-भक्तराज रसाइली
काठमाण्डौ । बैंकिङ पारिवारिक पृष्ठभूमिबाट धितोपत्र व्यवसायीका रुपमा उदाएका रमनदेव पन्त ब्रोकर नम्बर ४० क्रिएटिभ सेक्युरिटीज प्रा.लि.का प्रबन्ध निर्देशक हुन् । कृषि विकास बैंक लिमिटेडका पूर्व सीइओ योगेश्वर पन्तका पुत्र उनको पुख्र्यौली घर पाल्पाको घुगी हो । 

हाल काठमाण्डौ २८ कमलपोखरीका बासिन्दा उनले नेपाल कमर्श क्याम्पसबाट एमबीए उत्तीर्ण गरेका छन् । एमबीए पढ्दापढ्दै दोस्रो बजारमा पनि लगानीकर्ताका रुपमा सक्रिय उनले प्राथमिक बजारमा आफूले पाएको नेपाल बगंलादेश बैंकको २० कित्ता सेयर ३ हजार ५ सय ५० मा बेचेको रोचक प्रसङ्ग समेत सुनाए । 

धितोपत्र व्यवसायीका रुपमा मात्र संलग्न नभई पन्त कमलपोखरीमा रहेका विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध छन् । उनी म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल(म्यान)का साधारण सदस्य र स्टक ब्रोकर एशोसिएसनका सदस्य(दोस्रो कार्यकाल) समेत हुन् । 

अध्ययनपछि जागिरमा पटक्कै रुचि नजनाएका उनले स्वउद्यम गर्ने तीव्र इच्छा र ब्रोकर लाइसेन्स लिएर नेपालको पूँजीबजारमा दीर्घकालसम्म सेवा दिइने विशेष अभिरुचिकै कारण ब्रोकर बनेको पन्तको भनाई छ । 

क्रिएटिभ सेक्युरिटीज प्रा.लि.ले २०६८ साल असार ९ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति र नेप्सेबाट असार २६ गते धितोपत्र कारोबार अनुमति पाएको हो । २ जना प्रमोटर रहेको कम्पनीमा अध्यक्ष प्रा.डा. इन्दिरा जोशी हुन् । 

दुई करोड चुक्तापूँजी रहेको कम्पनीको नेटवर्थ ४ करोड १५ लाख रहेको छ । १९ जना कर्मचारी कार्यरत क्रिएटिभको बनेपामा शाखा समेत छ । हालै धितोपत्र बोर्डमा उपत्यका बाहिरका विभिन्न १० ठाउँमा शाखा विस्तार गर्नका लागि आवेदन दिइएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७४ साल साउन १ गतेदेखि सिडिएससीबाट अनुमति पाई डीपी सेवा समेत दिइरहेको कम्पनीमा ८ हजार ५ सय ८५ व्यक्तिगततर्फ र १ सय ६७ संस्थागत डिम्याट खाता खोलिएको तथ्याङ्क छ । 

क्रिएटिभमा दैनिक ६० जना हाराहारीले कारोबार गर्ने गरेकोमा दैनिक उपस्थिति ४५ जनाको औसतमा हुने गरेको छ । कुल ११ हजार ५ सय ६३ केवाइसी अपडेट रहेको कम्पनीको दाबी छ ।

यो ब्रोकरेज हाउसले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८२ कम्पनीका खरिदतर्फ २७ करोड ९२ लाख र बिक्रीतर्फ ३१ करोड ७ लाख रुपैयाँ हाराहारी भएको जनाएको छ ।

ब्रोकर कम्पनीहरुमाझ आफ्नो राम्रै उपस्थिति रहेको बताएका पन्तले ग्राहकलाई अधिक सुविधा र सहजतापूर्वक छिटोछरितो सेवा दिइरहेको दाबी गरे । १८ वर्षसम्म ब्रोकरेज हाउसमा काम गरेका र ३० वर्ष पूर्व बैंक कर्मचारीको अनुभवकै कारण ग्राहकलाई फोकस गरेर ब्रोकरेज सेवा दिन सफल बनेको उनको जिकिर छ ।

पारिवारिक वातावरण र ग्राहकहरुको अर्डरमा केन्द्रित रही दीर्घकालीन सोचका साथ दिइने सेवा क्रिएटिभको बलियो पक्ष भएको उनको बुझाई छ।

आफ्ना पिता बैंकका पूर्व सीइओ भएकाले बैंकर बन्ने सम्भावना अधिक हुँदाहुँदै पनि आफ्नै काम गर्न रुचि भएकै कारणले ब्रोकर पेशामा रमाइरहेका उनले पिताको प्रेरणा र साथको प्रशंसा समेत गर्न भ्याए ।

ग्राहकको सन्तुष्टि र नियामकको नीति निर्देशन परिपालना गर्ने ब्रोकरका रुपमा आफ्नो ध्यान केन्द्रित हुने गरेको उल्लेख गर्दै उनी आफ्नो कम्पनीलाई दीर्घकालीन ग्राहक भित्र्याउने ब्रोकरको रुपमा चिनाउन चाहेको सुनाए । 

ब्रोकरहरुले स्टक डिलरशीप र हाल खेप्दै आएको क्लोजआउटको समस्या समाधानका लागि अक्सन मार्केटको सञ्चालन अपरिहार्य रहेको उनको ठम्याइ छ ।

बिहान साढे ९ बजेदेखि साँझ ६ बजेसम्म ग्राहकहरुलाई सेवा दिंदै आएको कम्पनीमा २ हजार स्क्वायर फिटको खुल्ला कार्यालय परिसरमा एउटा बेग्लै कोठा अनलाइन युजरका लागि छुट्याइएको छ । 

कम्पनीले चियापानीको उचित व्यवस्थाका साथै २ वटा सफा शौचालयको समेत व्यवस्था गर्दै आएको छ ।

ब्रोकर नम्बर ४० नै किन रोज्ने भन्ने बिजशालाको जिज्ञासामा पन्तले समयमै अर्डर पोष्ट हुने र भुक्तानीको सहज उपलब्धता भएकाले सेवाका लागि उनले आग्रह गरे ।

नियामकको भूमिकाप्रति अहिलेसम्म सकारात्मक नै रहेको पन्तले अभिभावक भएको जिकिर गरे ।

मुलुकका लागि पूँजी बजार आर्थिक मेरुदण्ड रहेको बताउँदै उनले पूँजीलाई चलायमान बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

राफसाफमा ग्राहकहरुबाट ढिलो भुक्तान हुने समस्या रहेको जनाउँदै चेक भुक्तानमा ढिला भएकै कारणसमेत नेप्सेबाट १/२ पटक कारोबार निलम्बन भएको बाहेक अन्य कारबाहीमा नपरेको पन्तको दाबी छ ।

ब्रोकरलाई बन्देज गरिएका कुराहरु खुला गरिनुपर्ने भन्दै आफ्नो कारोबार आफैंले समेत गर्न पाउनुपर्ने उनले जोडदार माग गरे । देशव्यापी पहँुच वृद्धिका लागि ब्रोकर शाखा विस्तार गर्न पाउनुपर्ने उनको अर्को माग छ ।

लगानीकर्ताका आँखामा क्रिएटिभ सेक्युरिटीज
हेमन्त मल्ल,काष्ठ व्यवसायी,बानेश्वर ६० वर्ष
विगत ४ वर्षदेखि सेयर बजारमा पाइला राख्दै आएकोमा क्रिएटिभबाट चाहि विगत १ वर्षदेखि कारोबार गर्दै आइरहेको छु । सेवासुविधाका हिसाबले समग्रमा राम्रै छ । म १० नम्बरमा ८ नम्बर दिन्छु ।

लक्ष्मीप्रसाद वस्ती, सक्रिय लगानीकर्ता, टोखा  ५१ वर्ष
बाह्र वर्षदेखि सेयर बजारमा सक्रियता जनाउँदै आएकोमा मैले यहाँबाट कारोबार सुविधा लिएको ४ वर्ष भयो । लगानीकर्ताले पाउनुपर्ने सेवासुविधाहरु पाइनै रहेको छु । मित्रवत व्यवहार र बस्ने सहजता लगायत सबै सेवाबाट पूर्ण सन्तुष्टि पाएको महसुस गर्दछु । मार्जिन लेण्डिगंको सुविधा पाए हुन्थ्यो भन्ने चाहना छ । म १० नम्बरमा ८ नम्बर दिन चाहन्छु ।

मोहनप्रसाद रिजाल,पूर्व बैंकर,भक्तपुर लोकन्थली,६२ वर्ष
दशवर्षदेखि सेयर बजारमा सक्रिय म ४० नम्बरबाट विगत १० वर्षदेखि कारोबार गर्दै आएको छु । यहाँबाट पाउने सेवासुविधाहरु मध्यम छन् । मैले १० नम्बरमा ७ नम्बर दिन चाहेँ ।