-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट  वि.सं.२०६७ साल बैशाखमा अनुमति पाई नेप्सेले सेयर खरिदबिक्रीका लागि सोही साल भदौबाट कारोबार सञ्चालन स्वीकृति दिएसँगै स्वर्णलक्ष्मी सेक्युरिटिज प्रालि र धितोपत्र दलाल व्यवसायीको रुपमा सि.ए.धर्मराज सापकोटाको उदय भएको हो । 

सापकोटा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका महासचिव र स्वर्णलक्ष्मी सेक्युरिटीज प्रा.लि.का अध्यक्ष हुन । 

उनको स्वर्णलक्ष्मी सेक्युरिटिज काठमाण्डौं पुतलीसडकस्थित शंकरदेव क्याम्पस विपरीतको गल्लीमा रहेको छ । 

हेटौंडा ४ स्थायी निवासी सापकोटा हाल डिल्लीबजारका बासिन्दा हुन् । उनले एमबीएस र सि.ए.अध्ययन गरेका छन् । 

ब्रोकर पेशामा आउनुअघि अडिटर, लगानीकर्ता र  पब्लिकेशन(कोर्सबुक)का मालिक समेत रहेका सापकोटाले हाँकेको ब्रोकर नम्बर ३७ अर्थात् स्वर्णलक्ष्मी सेक्युरिटीज वि.सं.२०६४ साल पौष १० गते स्थापना भएको हो ।

उनको ब्रोकर कम्पनीमा ४ जना प्रमोेटर छन् भने चुक्ता पूँजी ५ करोड रहेको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सेवा दिइने उनको कम्पनीमा शाखासहित १६  कर्मचारी कार्यरत छन् । हेटौंडा २ संगम चोकमा शाखा समेत छ ।

सापकोटाले आफूहरुले डीपी सेवा भने सञ्चालनमा नल्याएको जनाए । संस्थागत कारोबारी औसतमा २५ जनासहित जम्मा ११ हजार कुल कारोबारी खाता रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।

असी प्रतिशत फोनबाट नै धितोपत्रको अर्डर लिने सापकोटाकोमा दैनिक औसत १२ जना लगानीकर्ताहरुको उपस्थिति रहने गरेको छ । दैनिक औसत खरिदका लागि ४५ जना र बिक्रीका लागि औसत ७० जना ग्राहकहरुले कारोबार गर्ने गरेका सापकोटाले सुनाए ।

कम्पनीका अनुसार पछिल्लो माघ, फागुन र चैतमा १४७ कम्पनीका ५८ करोड ३६ लाख ५८ हजार ९ सय एक रुपैयाँ बराबर रकमको कारोबार भयो ।

आफूलाई मध्यम वा औसत ब्रोकरका रुपमा चिनाउन खोज्ने सापकोटा कानूनको परिधिभित्र रही ग्राहककेन्द्रित सेवा दिइने ब्रोकर, जसमा कुनै गुनासो नभएको भन्न रुचाउँछन् ।

सेयर ब्रोकर पेशा नै किन रोज्नुभयो नि भन्ने बिजशालाको जिज्ञासामा, अन्तर्राष्ट्रिय रुपमा नै आर्थिक क्रियाकलापको रेपुटेड बिजनेस रहेकोले भन्ने उनले जवाफ दिए । 

‘नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा नियमित ग्रोइङ बिजनेस पेशा र प्रणालीगत प्रक्रियामा बजार चल्ने भएकाले समेत म यस पेशामा आकर्षित भएँ । भविष्यको आशामा निरन्तर सक्रिय रहने भएकाले समेत मैले ब्रोकर पेशा रोजेको हुँ ।’ उनले भने ।

कारोबारका आधारमा मध्यम र शून्य गुनासो रहेको लगानीकर्ताकेन्द्रित ब्रोकरको परिचय बनाएकोमा सापकोटा दङ्ग देखिए ।

कानूनको क्षेत्राधिकारभित्र रही धितोपत्र खरिदबिक्री र समयमा नै सेटलमेन्ट गर्न निकै चिन्तित सापकोटाले इमर्जेन्सी परेमा सेटलमेन्ट अघि नै भुक्तानी दिने गरेको पनि बताए । दिनको २ पटक चियाको समेत व्यवस्था रहेको उनले सुनाए ।

लगानीकर्ताहरु किन ३७ नै आउनुपर्ने ? भन्ने बिजशालाको प्रश्नमा विद्यमान कानूनको परिधिभित्र उत्कृष्ट सेवासुविधा दिलाउन तत्पर रहेका हुनाले सेवा गर्ने मौका दिन सापकोटाले आग्रह गरे ।

कुनै नयाँ नीतिनिर्देशन तथा कानून परिमार्जन वा कार्यान्वयन गर्नुअघि सम्बद्ध निकायहरुले सरोकारवालाहरुलाई खुला रुपमा सुझाव र सल्लाह लिएर मात्र गर्न सापकोटाले सुझाए ।

अर्थव्यवस्थाको महत्वपूर्ण ऐनाका रुपमा रहेको पूँजीबजार अझै रिफ्लेक्ट हुन नसकिरहेकामा उनले चिन्ता समेत व्यक्त गरे । 

हालसम्म नियामकको कुनै कारबाहीमा नपरेको दाबी गरेका सोपकोटाका अनुसार भौतिक धितोपत्र हुँदा २/४ पटक नेप्सेबाट कारोबार निलम्बनमा भने परेको बताए । 

अन्तर्राष्ट्रिय स्तरको पूँजीबजार बनाउन नियामकले बृहत अध्ययन अनुसन्धान गर्न र  सक्रियता बढाउन जरुरी रहेको सापकोटाको धारणा छ ।

सरकारले समेत प्राथमिकताको क्षेत्रमा राख्नुपर्ने र नीतिगत छिद्रता टाँल्न तदरुकता बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने–‘नियमन वस्तुपरक बनाउन र एकअर्कामाथिको दोषारोपण अन्त हुनुपर्छ । बजार सम्बद्ध सबैले आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्नुपर्छ ।’

दोषारोपण गर्नका सट्टा सम्बद्धपक्षबीच हातेमालो आवश्यक रहेको बताउँदै सापकोटाले लगानीकर्ताहरुमा समेत पूँजीबजारसम्बन्धी सचेतना अत्यन्त आवश्यक भएको बताए । ‘प्रोफेसनल कल्चरको अभाव त छँदै छ नै।’ उनले थपे–‘विकसित राष्ट्रका राम्रा नीतिनिर्देशन कपीपेष्ट गरे मात्र पनि राम्रो हुन्थ्यो ।’

देशको आर्थिक विकास र पूँजीबजार एकै सिक्काका दुई पाटासमेत भएका सापकोटाको तर्क छ । नियामकले समेत आजभोलि सरोकारवाला पक्षसँग फिडब्याक लिने गरेकोमा र संस्कृति बसेकोमा सापकोटा नियामकप्रति कृतज्ञ रहेछन् ।

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर ३७ 

प्रकाश नेपाल, गोगंबु, पूर्वव्यापारी, ५७ वर्ष
वि.सं.२०६३ सालदेखि सेयरबजारमा सक्रिय म विगत ३ वर्षदेखि स्वर्णलक्ष्मीबाट धितोपत्र कारोबार गरिरहेको छु । शतप्रतिशत उत्कृष्ट रहेकामा यहाँको सेवा ठीकै छ । यहाँ मात्रै हैन, पूँजीबजारमा संस्थागत सुशासन हुन अत्यन्त आवश्यक भइसकेको छ । म  यो ब्रोकर हाउसलाई १० नम्बरमा ८ नम्बर दिन चाहन्छु ।

रघु बराल, कलंकी, आइटी कल्सल्ट्यान्ट,४० वर्ष
विगत १० वर्षदेखि धितोपत्र बजारमा लागेकोमा म यहाँ धाउन थालेको र दोस्रो बजारमा पाइला राखेको ३ वर्ष जत्ति भयो । प्राफेसनल हुनुहुन्छ, वहाँहरुको सेवा एकदम ठीक छ । कुनै लप्पनछप्पन छैन । सेवासुविधाबाट सन्तुष्टि त छु तर इन्टरनेट चाहिँ हल्का स्लो भएकोमा थोरै गुनासो छ । मैले १० नम्बरमा ८ नम्बर दिन चाहेँ ।

विपिन अमात्य,थापाथली,पूर्णकालीन लगानीकर्ता,५० वर्ष
चौध वर्षदेखि सेयरबजारमा सक्रिय रहेकामा म ३७ नम्बरमा चाहिँ विगत ३ वर्षदेखि नै सेवा लिइरहेको छु । सेवासुविधा ठीकै लागेको छ । सेयर खरिदबिक्रीमा परामर्श सेवा ब्रोकरमार्फत पाएमा खुशी हुने थिएँ ।