काठमाण्डौ । जिम्मेवार सरकारी अधिकारी पैसामा बिक्दा त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ स्टेराइल कक्षमा संचालित एक पसलबाट अबैध रुपमा मदिराजन्य पदार्थ बिक्री भइरहेको भेटिएको छ । सम्झौताविपरीत खाजाका आइटम समेत बिक्री हुने सो पसलबाट खाजा वा पेय पदार्थको बाहानामा सुन तस्करी भइरहने हुनसक्ने आँकलन गरिएको छ । 

स्टेराइल कक्षमा संचालित ‘एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप’बाट सुरक्षालाई जोखिम हुने गरी गैरकानूनी ढंगले मदिराजन्य पदार्थ तथा सम्झौतामा उल्लेख नभएका खाद्यवस्तु बिक्री गरे पनि त्यसबाट उत्पन्न हुुनसक्ने सुरक्षा जोखिमप्रति नागरिक उड्डयन प्राधिकरणकै अधिकारीले बेवास्ता गरेका पाइएको छ । 

बरु प्राधिकरणकै उच्च अधिकारीहरुको मिलेमतो रहेपछि सम्झौताविपरीत पसल संचालकलाई मदिराजन्य पदार्थ बिक्रीको खुलेआम छुट दिइएको पाइएको छ । गोपालबाबु श्रेष्ठले संचालन गरेको ‘एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप’बाट सुरक्षामा जोखिम हुने र तस्करीलाई समेत सहयोग पुुग्ने अन्य गैरकानूनी काम पनि भइरहेको हुनसक्ने आशंका गरिएको छ । पछिल्लो समय सुन तस्करीका ठूला–ठूला काण्ड भइरहँदा यस्तै कमजोरीहरुले अहिले पनि कुनै न कुनै रुपमा सुन तस्करी भइरहेको हो कि भन्ने कतिपयको आशंका छ । उनीहरुले पसल संचालकले गरेको गैरकानूनी काम तथा सम्झौताविपरीतका गतिविधि रोक्न सम्बद्ध निकायका अधिकारीहरुलाई आग्रह गर्ने गरे पनि सबैको मिलेमतो रहेका कारण कुनै छानबिन हुन नसकेको स्रोतले बताएको छ। 

सम्झौताविपरीत काम


गोपालबाबुु श्रेष्ठले ‘एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप’ संचालनको सम्झौता अवधि सकिइसके पनि सर्वोच्च अदालतलाई प्रयोग गरी त्यहाँको आदेशलाई देखाउँदै दादागिरीको शैलीमा पसल संचालन गरिरहेका छन् । नागरिक उड्डयन प्राधिकरण र श्रेष्ठ बीच सप संचालनको बिषयमा पछिल्लो सम्झौता २०६९ साल चैत २२ गते भएको थियो । सो सम्झौता ३ वर्षका लागि गरिएको थियो । त्यसपछि श्रेष्ठसँग सम्झौता नवीकरणको बिषयमा थप केही पनि सहमति भएको छैन । सम्झौता अवधि ०७२ साल चैत २२ गते नै सकिए पनि सर्वोच्च अदालतलाई प्रयोग गरेर उनले ०७२ साल चैत २१ गतेको मितिको एक स्टे अर्डर ल्याई दादागिरीको भरमा पसल संचालन गरिरहेका प्राधिकरणका एक अधिकारीले बताए । ‘हामीले पटक–पटक पत्राचार गरी पसल उठाउन भन्यौं ।’ ती अधिकारीले भने–‘तर उनी अदालत गएर स्टे अर्डर ल्याई त्यसैको भरमा पसल संचालन गरिरहेका छन् ।’ 

अदालतलाई समेत प्रभाव पार्नसक्ने श्रेष्ठले पछिल्लो समय नागरिक उड्डयन प्राधिकरणका उच्च तहका कर्मचारीलाई समेत आफ्नो प्रभावमा पारेका स्रोतको दाबी छ । यही मिलेमतोका कारण सम्झौता नभएको मदिरा र मदिराजन्य पदार्थ समेत उनले खुुलेआम बिक्री गरिरहेका छन् । सुरक्षा संवेदनशीलताको हिसाबले यात्रुुहरुको चेकआउट भइसकेपछि प्रवेश गर्ने स्टेराइल कक्षमा यस्तो पसल संचालन गर्न दिइनुु आफैंमा जोखिमपूर्ण मानिन्छ । त्यसमाथि पनि यस्तो पसलबाट मदिरा तथा मदिराजन्य पदार्थ बिक्री हुुुनुले अन्तराष्ट्रिय बिमानस्थलको सुरक्षामा जुनसुकै बेला जोखिम आउनसक्ने जानकारी बताउँछन् । 

अर्कोतर्फ गोपालबाबुु श्रेष्ठले प्राधिकरणका उच्च तहका कर्मचारीलाई समेत हातमा लिएपछि सम्झौता नभएका अन्य खाद्यवस्तु समेत बिक्री गरिरहेका छन् । त्यहाँबाट कपडा समेत बिक्री हुने गरेको छ, जुन सम्झौताविपरीत छ । खाद्य वस्तु वा कपडा पसलसम्म लैजाने र त्यहाँबाट बाहिर लग्ने नाममा भित्रभित्रै अबैध वस्तुको तस्करी त भइरहेको छैन भन्ने शंका समेत उब्जिएको छ । 

प्राधिकरणसँग ०६९ सालमा भएको सम्झौताको ८ नम्बर बुँदामा ‘पसलबाट बिक्री गरिने सामाग्री’ महलमा स्पष्ट रुपमा चिया, कफी तथा स्न्याक्स स्टलमा विमानस्थल सुरक्षामा कुनै आँच आउन नदिन सुरक्षा खानतलासीमा जटिल हुन नदिन देहाय बमोजिमका सामान मात्र स्टलमा राख्नुपर्ने छ भनी निम्न सामान राख्न पाइने तोकिएको छ :

क) पेय पदार्थ
१) सिल गरिएका मिनरल वाटरका बोटलहरु
२)सिल गरिएका कोल्ड ड्रिंक्स(चिसो पेय पदार्थ)का बोटल तथा क्यानक जुस तथा पाउच । 
३)चिया कफी

ख) खानेकुरा
१)विभिन्न बिस्कुटहरु, कुकिजका सिल प्याकेटहरु
२)सिल प्याक केक, समान किसिमका बेकरीहरु । 
३)सिल प्याकेट विभिन्न चकलेटहरु तथा चुरोटहरु  
४)सिल प्याकेट विभिन्न चुुइगम, चिप्सहरु, दालमोठ, पिनट्स, काजु तथा पत्रपत्रिका । 

तर, श्रेष्ठले आफ्नो पसलबाट यी चिज मात्र बिक्री गर्दैनन् । उनी आफैं खुलमखुल्ला बियर, रक्सी बिक्री गर्ने गरेको बताउँछन् । उनको सपबाट मम, चाउमिन, बर्गर, स्याण्डविच समेत बिक्री हुन्छ । यी वस्तुु ओसारपोसारको नाममा भित्रभित्रै सुनको तस्करी त भइरहेको छैन भन्ने आशंका गर्नेहरु समेत धेरै छन् । तर, श्रेष्ठ स्वयम् चाहि आफूले गरिखाएको देख्न नचाहनेले यी सबै हल्ला फैलाएको दाबी गर्छन । ‘यात्रुको माग भएपछि बियर र रक्सी पनि बिक्री गर्छु ।’ उनले भने–‘यी वस्तु बिक्री गर्न मलाई प्राधिकरणले नै अनुमति दिएको छ ।’ 

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुका अनुसार उनीसँग यस्तो चिज बिक्री गर्न दिने भन्ने कुनै सम्झौता भएको छैन र यस्तो पदार्थ एयरपोर्टको अति संवेदनशील क्षेत्रबाट बिक्री गर्न दिने भन्ने सवाल नै नउठ्ने ती अधिकारी बताउँछन् । अदालतको स्टे अर्डरको भरमा श्रेष्ठले जथाभावी गरिरहेका उनको आरोप छ । 

श्रेष्ठको यो धन्दामा प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरको भरपुर साथ रहेको देखिएको छ । श्रेष्ठको पसललाई अप्ठ्यारो पर्ने कुनै कदम प्राधिकरणबाट चाल्न खोज्दा त्यो सूचना ठाकुरले नै पुर्याउने गरेका र कुनै कारबाही वा छानबिन गर्नुअघि नै प्राधिकरणका जिम्मेवार अधिकारीसँग सेटिङ हुने गरेको स्रोत दाबी गर्छ ।

के भन्छन् प्राधिकरणका अधिकारी ? 
श्रेष्ठको कफी सपबाट भइरहेको गैरकानूनी कामको बिषयमा बुुझ्न फोन गर्दा नागरिक उड्डयन प्राधिकरणका डीजी सञ्जिव गौतमले यो बिषयमा आफूलाई केही थाहा नभएकोले महाप्रबन्धक(जिएम)लाई बुुझ्न आग्रह गरे । जिएम देवानन्द उपाध्यायले बियरसम्म बिक्री गर्न दिने भन्ने सम्झौता भएको दाबी गरे पनि सम्झौताको अक्षरंश पढेर सुनाएपछि अलमलिए । ‘बियरको क्यान बिक्री गर्न दिने भन्ने बुँदा होला ।’ उनले बिजशालासँग भन–‘रक्सी चाहि बिक्री गर्न दिने भन्ने सम्झौता छैन ।’ तर संवाददाताले बियरको क्यानको बिषय पनि सम्झौता नरहेको, बियर पनि मदिराजन्य पदार्थ रहेको भन्ने तर्क गरेपछि चाहि आफूले तत्काल यो बिषयमा बुुझ्ने र सम्बन्धित विभागका कर्मचारीलाई खटाएर छानबिन गर्ने दाबी गरे । उनको विरोधाभास भनाईले केही न केही गडबड रहेको पुष्टि गर्छ । प्राधिकरणकै जिम्मेवार अधिकारीहरुसँगको मिलेमतोमा खाजा वा पेय पदार्थको नाममा अन्य गैरकानूनी धन्दा के–के भइरहेको छ ? छानबिन गर्नुपर्ने आवश्कयता देखिएको छ । कतै सानो–सानो परिमाणमा खाजा वा नास्ताको नाममा सुनको तस्करी भइरहेको स्रोतहरुको दाबी सही त छैन ? यो बिषयमा पनि ध्यान दिनुपर्ने देखिएको छ । 

यो प्रकरणमा प्रहरीको भूमिका समेत शंकास्पद रहेको छ । मदिराजन्य पदार्थ खुलेआम बिक्री हुँदा प्रहरीले देखेको नदेखे झै गर्नुले समेत यो कुरा पुष्टि हुने स्रोत बताउँछ ।