काठमाण्डौ । सुनको मूल्य हालै सर्वकालिक उच्च विन्दुमा पुगे पनि आगामी दिनमा यसको भविष्यबारे विश्लेषकहरूबीच फरक(फरक अनुमानहरू सार्वजनिक भएका छन्।
मर्निङस्टारका विश्लेषकले सुनको मूल्यमा ठूलो गिरावट आउने भविष्यवाणी गरेका छन्, जसअनुसार यसको मूल्य अहिलेको तुलनामा करिब ४० प्रतिशतले घट्नसक्छ। तर, अर्कोतर्फ, अन्य प्रमुख वित्तीय संस्थाहरूले भने सुनको मूल्य अझै बढ्ने आशावादी अनुमान व्यक्त गरेका छन्।
मर्निङस्टारका अनुसार, बढ्दो आपूर्ति, मागमा कमी र बजार संतृप्तताले सुनको मूल्यलाई तल धकेल्न सक्छ।'सुनको मूल्य अहिले अस्वाभाविक रूपमा उच्च छ, तर यो स्तर लामो समय टिक्न नसक्ने देखिन्छ', विश्लेषकले भनेका छन्।
उता, बैंक अफ अमेरिकाले सन् २०२७ सम्म सुनको मूल्य प्रतिऔंस ३,५०० डलर पुग्ने अनुमान गरेको छ भने गोल्डम्यान स्याक्सले यो वर्षको अन्त्यसम्म ३,३०० डलर पुग्ने प्रक्षेपण गरेको छ। हाल सुनको मूल्य प्रतिऔंस ३००० डलर आसपास छ । यी संस्थाहरूले भूराजनीतिक तनाव, मुद्रास्फीति र केन्द्रीय बैंकहरूको सुन संचयलाई मूल्य वृद्धिको कारक मानेका छन्।
यसरी यी संस्थाहरुको अनुमानलाई आधार मान्ने हो भने सुनको मूल्य नेपाली बजारमा बढेर प्रतितोला २ लाख रुपैयाँसम्म पुग्नसक्छ । तर, मर्निङस्टारका विश्लेषकको कुरा सुन्ने हो भने सुनको मूल्य निकट भविष्यमै ठूलो गिरावट आउनसक्छ । नेपाली बजारमा सुनको मूल्य घटेर प्रतितोला १ लाख हाराहारीमा आइपुग्न सक्छ ।
नेपालको सन्दर्भमा, यी दुवै अनुमानले बजारमा प्रभाव पार्न सक्छ। नेपालमा सुनको मूल्य अन्तराष्टिय बजारको भाउसँग जोडिएको हुनाले, यदि मर्निङस्टारको भविष्यवाणी सही ठहरियो भने यहाँ पनि मूल्य घट्न सक्छ, जसले उपभोक्तालाई राहत दिनेछ। तर, यदि मूल्य बढ्ने अनुमान सही भएमा, विशेषगरी चाडपर्व र विवाहको सिजनमा सुनको भाउ अझ महँगो हुन सक्छ।
'दुवै सम्भावनालाई ध्यानमा राखेर लगानीकर्ता र उपभोक्ताले सावधानी अपनाउनुपर्छ', काठमाडौंका सुन व्यापारी राजु जोशीले भने।
विश्व बजारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको आयात शुल्क नीति र आर्थिक अनिश्चितताले सुनको मागलाई प्रभावित गरिरहेको छ।
विश्लेषकहरूका अनुसार, यदि विश्वव्यापी व्यापार युद्ध तीव्र भयो भने सुन सुरक्षित लगानीको रूपमा थप आकर्षक बन्नसक्छ। तर, अमेरिकी डलर बलियो भएमा वा ब्याजदर बढेमा सुनको मूल्यमा दबाब पर्न सक्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्म यी अनुमानहरूबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। तर, बजार जानकारहरूले लगानीकर्तालाई बजारको गतिशीलता नजिकबाट नियाल्न सुझाव दिएका छन्। 'सुनको मूल्य या त ठूलो उचाइमा पुग्न सक्छ, वा तल झर्न सक्छ—यो अनिश्चितताले हामीलाई सतर्क बनाएको छ', एकजना स्थानीय विश्लेषकले भने।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                