काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तत्कालै हकप्रद सेयर जारी गर्न नपाउने भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको शतप्रतिशत हकप्रद तत्कालको लागि रोक्न निर्देशन दिएको छ ।
योसँगै कम्पनीकोे विशेष साधारणसभा समेत स्थगित भएको छ । कम्पनीले वार्षिक साधारण सभा सकेको केही दिनमै फेरी विशेष साधारणसभा आह्वान गरेको थियो । सभाबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी प्रस्ताव पारित गर्ने विशेष एजेण्डा थियो । तर तत्कालको लागि कम्पनीको यो योजना विफल भएको छ ।
प्राधिकरणका अनुसार हालको लागि गार्डियन माइक्रो लाइफको शतप्रतिशत हकप्रद स्थगत मात्रै गरिएको हो । ‘कम्पनीले भर्खरै सर्वसाधारणमा आइपीओ जारी गरेको हो, आइपीओ लगत्तै १ः१ अनुपातमा हकप्रद जारी गर्न विशेष सभा आह्वान गरेकाले हालको लागि स्थगन गरिएको हो’ प्राधिकरणका एक अधिकारीले बताए ।
यता कम्पनीका सीइओ चिरायु भण्डारीले पनि प्राधिकरणबाट तत्कालका लागि हकप्रद सेयर र विशेष सभा स्थगन भएको बताए । ‘प्राधिकरणले हाललाई हकप्रद सेयर स्थगन गर्न निर्देशन दिएको हो, तर रोक नै लगाएको भने होइन’ उनले भने, ‘प्राधिकरणको निर्देशन बमोजिम हाललाई कम्पनीको हकप्रद निष्काशन प्रक्रिया र विशेष साधारण सभा रोकिने भएको छ ।’
प्राधिकरणको पूर्वस्वीकृति बिना नै कम्पनीले हकप्रद सेयर जारी गर्न विशेष साधारण सभा बोलाएको थियो ।