बुधबार, आश्विन २२,२०८२ 10:39:20
IME remit
  • बुधबार, आश्विन २२,२०८२ 10:39:20
IME remit
Global IME Bank Limited

बजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गर्दै सेबोन, तयार भयो विस्तृत कार्ययोजना

Hyundai Nepal
बजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गर्दै सेबोन, तयार भयो विस्तृत कार्ययोजना
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सुझाएका सुधारका उपायमध्ये प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को कार्यक्षेत्रमा पर्ने विषयहरुको शीघ्र कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाइएको पाइएको छ ।  

सेबोनस्थित उच्च स्रोतकाअनुसार तत्कालै गर्नुपर्ने कामहरुलाई शीघ्र कार्यान्वयनमा ल्याउने गरी स्पष्ट कार्ययोजना तयार भएको हो ।  

कार्ययोजनाअनुसारका सुधारको काम तत्कालै सुरु गर्ने सेबोनले तयारी गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

असोज ९ गते सेबोनकै कामू कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहेको कार्यदलले पूँजीबजार सुधारका लागि विशेष प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको थियो । सोही दिन नै अर्थमन्त्रालयले राष्टबैंक, धितोपत्र बोर्ड, नेप्से र अर्थकै राजश्व महाशाखालाई सर्कुलर पठाएर प्रतिवेदन कार्यान्वयनको काम थाल्ने भनेको थियो । बीचमा केही दिन दशैं विदा परेका कारण सुधारका सुझाव कार्यान्वयन ढिला भए पनि अब सम्बद्ध निकायले धमाधम काम अगाडि बढाएका हुन् ।  

सुधार कार्यदलले दिएको सुझावअनुसार तत्काल(बढीमा ३ महिनाभित्रै) गर्नुपर्ने काममा राष्ट्रबैंकले एकीकृत संसोधन गरी बुधबार साँझ नै सर्कुलर जारी गरिसकेको छ । सो सर्कुलरबाट व्यक्तिगततर्फको २५ करोडको सेयर धितो कर्जाको सीमा सम्बन्धी साबिकको व्यवस्था खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाले सेयर किनेर १ वर्षसम्म होल्ड गर्नुपर्ने नियम समेत संसोधन गरी ६ महिनामा झारिएको छ ।  

केन्द्रीय बैंकपछि सुझाव कार्यान्वयनका लागि धितोपत्र बोर्डले समेत सबै तयारी पूरा गरेको छ ।  

कुन सुझाव कसरी र कहिले हुँदैछ कार्यान्वयन ?

सेबोनले ३ महिनाभित्र गरिसक्नुपर्ने कामलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको छ ।  

धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने विषयमा एक समिति गठन भई त्यसले अध्ययनलाई अन्तिम चरणमा पुर्याएको छ । अध्ययन प्रतिवेदन आएलगत्तै यो व्यवस्था कार्यान्वयन हुनेछ ।  

सिडिएस तथा क्लियरिंग लिमीटेडबाट प्रदान गरिने आईजीन सम्बन्धमा एकरुपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागू गर्ने सुझावलाई कार्यान्वयन गर्ने गरी सिडिएससीबाट आएको निर्देशिका हाल बोर्डको कानून प्रवलीकरण समितिमा छलफल भइरहेको बुझिएको छ । यो पनि त्यहाँबाट रायसहित आउनेबित्तिकै कार्यान्वयनमा आउने देखिएको छ ।  

सुधार कार्यदलले दिएको अर्को सुझाव थियो: संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्ने । 

यो विषयमा धितोपत्र बोर्डले कात्तिक १५ गतेभित्र निर्देशन जारी गर्ने गरी कार्ययोजना तयार गरेको बुझिएको छ ।  

यस्तै, धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरीद आदेश बमोजिमको रकम भुक्तान गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्नुपर्ने अर्को सुझाव थियो । यो विषयमा धितोपत्र बोर्ड र नेप्सेले काम सुरु गरिसकेका र एक अध्ययन गरी कात्तिक मसान्तभित्र सम्पन्न गर्ने कार्ययोजना तयार गरेका छन् ।  

लगानीकर्ताले दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्नसक्ने व्यवस्था गर्नका लागि धितोपत्र बोर्डले नेप्से र सिडिएससीलाई निर्देशन दिइसकेको छ । यस्तै, बढी डिम्याट खाता खोल्दा लगानीकर्तामा पर्नजाने शुल्कको भारलाई कम गर्न उक्त शुल्कमा पुनरावलोकन गर्न समेत सेबोनले सिडिएससीलाई निर्देशन दिइसकेको बुझिएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सूचीकृत कम्पनीहरुको वित्तीय सवलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा उक्त वर्गीकरण पश्चात जेड समूहमा पर्ने कम्पनीहरुको कारोबार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गर्ने सुधार कार्यदलले सुझाएको अर्को महत्वपूर्ण सुझाव थियो । यसको कार्यान्वयनको मुख्य जिम्मेवार निकाय नेप्से हो । सेबोन स्रोतले नेप्सेबाट यस सम्बन्धमा धितोपत्र सूचीकरण विनियमावली संसोधनका लागि बोर्डमा आएलगत्तै स्वीकृत गर्ने प्रष्ट्याएको छ ।  

बोर्डले मध्यकाल अर्थात १ वर्षभित्र गरिसक्नुपर्ने र दीर्घकाल अर्थात १ वर्षभन्दा बढी समयभित्र गरिसक्नुपर्ने कामहरुका लागि समेत स्पष्ट कार्ययोजना बनाइसकेको बुझिएको छ । 

बोर्डले बनाएको सुधार सुझाव कार्यान्वयनको कार्ययोजना यस्तो छः

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.