काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ निश्कासनको प्रक्रिया पुनः सुरु गर्नुअघि धितोपत्र बोर्डमा योजना नै बनाइएको खुलेको छ । यही विषयका कारण अहिले बोर्डभित्रका कर्मचारीबीच तीव्र असन्तुष्टि देखिएको छ ।
सेबोनस्थित उच्च स्रोतकाअनुसार रिलायन्स स्पिनिङ मिल्सको आईपीओलाई फास्ट ट्रयाकमा पुनः अगाडि बढाउनुअघि आन्तरिक रुपमा योजना बुनिएको थियो । आफू जोखिममा पर्ने डरका कारण बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अदालतको आदेश आएपछि त्यसलाई अपव्याख्या गर्दै कानून, सुपरीवेक्षण लगायतका विभागका प्रमुखहरुलाई बोलाएर एउटै खालको सुझाव(सिफारिस) पेश गर्न भनेका थिए । सम्बन्धित विभागबाट सिफारिस आउनुअघि नै के लेख्ने नलेख्ने भनेर भाषा मिलाउने काम पनि उनैले गरेका थिए । र, योजनाअनुसार नै एकै खालको भाषाको सिफारिस सम्बन्धित विभागहरुबाट आएपछि त्यसकै आधारमा आईपीओ निश्कासनको प्रक्रियालाई पुनः अगाडि बढाउने पूर्व योजनाअनुसार नै अध्यक्ष श्रेष्ठले काम थालेका खुलेको छ ।
सेबोनस्थित कर्मचारीहरुका अनुसार एउटै भाषा र शैलीको सिफारिस तयार गर्न लगाउने क्रममा त्यस्तो नगरे अदालतको अवहेलनाको मुद्दा चल्ने भन्दै विभागीय प्रमुख र मातहतका कर्मचारीहरुलाई तर्साइएको थियो । अध्यक्षले नै अदालतको अवहेलनाको मुद्दा लाग्छ भनेपछि आफूहरुले पनि त्रासमा रहेर खुरुखुरु काम गरिदिएको एक कर्मचारीले बताए ।
ती कर्मचारीकाअनुसार पछिल्लो समय जब रिलायन्सको आईपीओलाई रकेटको गतिमा अगाडि बढाउने प्रक्रिया पुनः सुरु गरियो, त्यसपछि बोर्डभित्रै पनि व्यापक असन्तुष्टि रहेको छ । 'कर्मचारीहरु नेतृत्वको एकपछि अर्को विवादास्पद कामप्रति रत्तिभर सन्तुष्ट छैनन् । सेबोनको साख धूलिसात भएकोमा उनीहरु रुष्ट छन् ।' ती कर्मचारीले थपे- 'अब त धितोपत्र बोर्डको कर्मचारी भन्नलाई नै लाज लाग्न थालिसक्यो ।'
धितोपत्र बोर्डको प्रतिष्ठा ध्वस्त बनाइरहँदा पनि सुपर रेगुलेटरको रुपमा रहेको अर्थ मन्त्रालयले चासो नदिएकोमा कर्मचारीहरुले आश्चर्य प्रकट गरेका छन् । नेतृत्वकै कारण पूँजीबजारप्रतिको विश्वास टुट्ने उच्च जोखिम देखिँदा समेत छानबिन गर्ने निकायहरु मौन रहेकोमा समेत उनीहरुले आश्चर्य प्रकट गरेका छन् ।
कर्मचारीहरुले रिलायन्सको आईपीओ लगायतका केही विवादास्पद प्रकरणमा नेतृत्वबाट भएको अक्षम्य गल्तीको इस्यूलाई लिएर नयाँ आन्दोलनको समेत तयारी गरिरहेका बुझिएको छ । 'अध्यक्षको रुपमा एउटा कार्यकालका लागि आउने र जानेलाई सेबोनको प्रतिष्ठाको मतलब हुने कुरा भएन । हाम्रो त यहाँ वर्षौ लगानी भएको छ । यसको प्रतिष्ठा जोगाउनुपर्छ भनेर हामीले विद्रोहको तयारी गरिरहेका छौं ।'-ती कर्मचारीले दाबी गर्दै भनेका छन् ।

