सोमबार, असार १६,२०८२ 05:07:04
  • सोमबार, असार १६,२०८२ 05:07:04
Global IME Bank Limited

हर्षद मेहता घोटाला काण्डः सेयर बजारका हिरो कसरी बने भिलेन ? ४ हजार करोड भारु स्क्यामले हल्लाएको विश्व

Hyundai Nepal
हर्षद मेहता घोटाला काण्डः सेयर बजारका हिरो कसरी बने भिलेन ? ४ हजार करोड भारु स्क्यामले हल्लाएको विश्व
Nabil Bank Limited

काठमाण्डौ । सन् १९९२ मा भारतको सेयर बजारमा एउटा यस्तो घोटाला भएको थियो,जसको चर्चा आजसम्म पनि हुने गरेको छ । विश्वभर चर्चा कमाएको यो घोटालाको पछाडि एक पात्र थिए,जसको नाम थियो हर्षद मेहता ।  

सन् १९९० को दशक भारतमा ठूला परिवर्तनहरुका साथ सुरु भएको थियो । भारतका तत्कालिन अर्थमन्त्री मनमोहन सिंह र प्रधानमन्त्री पीवी नरसिम्हा रावले त्यसबेला एउटा ठूलो निर्णय लिएका थिए ।  त्यसेबला नयाँ आर्थिक नीति लागू गर्ने, लगानी भित्राउन बाँकी विश्वका लागि ढोका खोल्ने,निजीकरण र विदेशी लगानीलाई बढावा दिने निर्णय गरिएको थियो ।  

यस्तोमा सेयर बजारसँग सम्बन्धित एउटा यस्तो घोटाला प्रकरण आयो,जसले सारा भारतमा हलचल मच्चियो । यो घोटाला यति ठूलो थियो कि यसपश्चात भारत सरकारले सेयर बजारको लागि सेबी नाम गरेको नियामक निकायको स्थापना गुर्नपरेको थियो ।  

हर्षद मेहता

अब कुरा गरौं यस घोटालाको मुख्य पात्र अर्थात शान्तिलाल मेहताको । सन् १९५४ जुलाई २९ मा हर्षद मेहताको जन्म भारतको गुजरात राज्यको राजकोटमा भएको थियो । हर्षदको केहि समय छत्तिसगढको रायपुरमा समेत बितेको थियो । तर भाग्यले हर्षदलाई डोर्याउदै सपनाको शहर मुम्बईमा ल्याई पुर्यायो । त्यसबेला मुम्बई लाई बम्बई भन्ने गरिन्थ्यो । बी कम गरेपछि हर्षदले एउटा बीमा कम्पनीमा सेल्सको जागिर सुरु गरे । तर न यो जागिर हर्षदका लागि थियो,न त हर्षद यो जागिरका लागि । उनको भाग्यमा अरु नै केहि लेखिएको थियो । बीमा कम्पनीको सेल्सको जागिर छाडेपछि हर्षदले एउटा ब्रोकर कम्पनीमा काम गर्न सुरु गरे । ब्रोकर कम्पनीका हर्ताकर्ता प्रसन्न परिजीवनदासलाई आफ्नो गुरु मान्दै उनले सेयर बजारको हरचाल सिक्दै नजिकबाट नियाल्न थाले ।  

यसरी बन्यो ‘बिग बुल’

सन् १९८४ मा हर्षदले आफनै कम्पनी स्थापना गरे  र बम्बे स्टक एक्सचेञ्जको सदस्यता लिए । ८० को दशक अन्त्य हुने संघारमा पुगेको थियो । तर हर्षदको जलवा भने बढ्दै गईरहेको थियो । ९० को दशक आउदै गर्दा भारतका प्रत्येक जसो अखबारमा हर्षद छाउने गरेका थिए र ठूला–ठूला मानिसहरुसँग उनको उठबस हुन थालेको थियो । भनिन्छ नि भगवान् दाहिने भए भने भाग्य बदलिन धेरै समय लाग्दैन भनेर । हर्षद मेहताको जीवनमा पनि यस्तै भईरहेको थियो । नयाँ लगानीकर्ता उनी जस्तै बन्न चाहन्थे भने पुराना लगानीकर्ता उनको नाम इज्जतका साथ लिने गर्थे । सबैमा उनको सफलताको राज जान्ने चाहना हुन्थ्यो ।  

के थियो त हर्षद मेहताको राज ?

हर्षद त्यो जादुगर थिए,जसले जुन सेयर छुन्थे त्यो सुनमा परिणत हुन्थ्यो । सेयर बजारको उनको भ्यालु कोहिनुर हिराभन्दा पनि धेरै थियो । तर हर्षद मेहताको राज जान्नु अघि उनले काम गर्ने तौरतरिकाका बारेमा बुझ्न आवश्यक हुन्छ । जब हर्षदले एसीसी नामक स्टकमा रुची देखाएका थिए,त्यसबेला त्यसको मूल्य प्रतिकित्ता २ सय भारु थियो । तर जब त्यो स्टकमा हर्षदले प्रवेश गरे,तब कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९ हजार भारुसम्म पुग्यो । आखिर हर्षदसँग त्यस्तो के रहस्य थियो जसले गर्दा भारतको सेयर बजारको होश उडेको थियो ? र ती को व्यक्ति थिए जसले उनको यो रहस्यबाट पर्दा उघारेका थिए ?  

पत्रकारले गरे पर्दाफाश

टाइम्स अफ इण्डियाका पत्रकार सुचेता दलालले हर्षदको भण्डाफोर गरेकी थिइन । पछि उनले देबाशीष बासुसँग मिलेर यो सम्पूर्ण प्रकरणका बारेमा ‘द स्क्याम’नामक पुस्तक नै लेखिन् ।  

सुचेता धेरै पहिलेदेखि हर्षद मेहताले सेयर बजारमा कसरी चलखेल गरिरहेका छन् भनेर निगरानी गरिरहेकी थिइन् । तर उनलाई सफलता प्राप्त भयो, सन् १९९२ मा । उनले हर्षद मेहताले बैंकबाट १५ दिनका लागि ऋण लिने गरेको र १५ दिनपछि पैसा फिर्ता गर्ने गरेको जानकारी थाहा पाइन् । रोचक कुरा त के भने कुनै पनि बैंकले १५ दिनका लागि ऋण दिने गर्दैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो विषयमा हर्षदको ट्रेनिङले काम गरिरहेको थियो । जुन उनले आफ्नो सुरुवाति दिनमा सिकेका थिए । उनको बैंकिङ क्षेत्रका मानिसहरुसँग राम्रो चिनजान थियो । बैंकहरुलाई जब नगदको आवश्यकता पर्थ्यो,तब बैंकहरुले सरकारी बोन्डलाई अन्य बैंकहरुमा धितो राखेर पैसा लिने गर्थे । तर वास्तविक रुपमा भने बोन्डको लेनदेन भने हुन्थेन । यसको साटो एउटा रसीदले काम चलाइन्थ्यो । यो काम बिचौलियामार्फत गर्ने गरिन्थ्यो । हर्षद मेहताले सिस्टमको यहि कमजोरीको फाइदा उठाएका थिए । जसपश्चात उनलाई सेयर बजारमा लगानी गर्नका लागि नगदको कमी भएन ।  

उनले यहि पैसालाई सेयर बजारमा लगाए र करोडौं मुनाफा आर्जन गर्न सफल भए । यो रकम कति थियो भनेर कसैले पनि यकिनका साथ भने खुलाउन सकेको छैन । तर हर्षद मेहता जुन ठाँटबाट र विलासीताका साथ जीवन बिताईरहेका थिए,त्यसले अधिकांश मानिसमा उनीप्रति शंका उब्जायो । भनिन्छ खराब समय बाजा बजाएर आउदैन भनेर । यो भनाइ्र्र हर्षद मेहताको जीवनमा पनि मेल खान पुग्यो । उनले यसको कल्पना समेत गरेका थिएनन् वा यसका लागि तयारी गरेका थिएनन् ।  

निरन्तर बढिरहेको थियो सेयर बजार  

त्यसेबला भारतको सेयर बजारले नयाँ–नयाँ उचाई हासिल गरिरहेको थियो । यस्तोमा हर्षद मेहताको जादु पनि चल्दै गईरहेको थियो । यो त्यो समय थियो,जुन बेला भारतको अर्थतन्त्र नयाँ युगमा प्रवेश गरिरहेको थियो । भारतले नीजिकरण र विदेशी लगानी भित्राउने जस्ता नीति लिईरहेको थियो । भारत परिवर्तनको कदममा अघि बढाईरहेको थियो । जबसम्म सेयर बजार बढिरह्यो हर्षद मेहताको जादु पनि चल्दै गयो ।  

तर एक दिन त्यस्तो आयो,जसले भारतको सेयर बजार धरासायी बनाईदियो । हर्षदले बैंकको पैसा फिर्ता गर्न सकेनन्, र यहि बेला खुल्यो ‘हर्षद  मेहता काण्ड’को पर्दाफास । यो प्रकरण सार्वजनिक भएपछि न्यूयोर्क टाइ्रम्समा एउटा लेख प्रकाशित भएको थियो । जसमा बिजनेश ट्ुडेका लेखेक देबाशीष बासुले भनेका थिए,‘समस्या मेहता होइनन्। यो भारीय अर्थव्यवस्थाको इतिहासको त्यो रोचक समय हो, जहाँ पुराना पानाहरुलाई च्यातिदै छ ।  यस्तोमा घोटाला काण्डहरु आफ्नो खोलबाट बाहिर निस्केर आईरहेका छन् ।’

भुईदेखि भुई सम्मैको यात्रा

सुचेला दलालको कलमले त्यो काम गरेको थियो,जुन काम हर्षदको सफलताको डाह गर्नेहरुले समेत गर्न सकेका थिएनन् । दलाल स्ट्रिटदेखि लिएर संसदसम्म यो घोटालाका बारेमा चर्चा हुन थालेको थियो । चर्चा व्यापक हुन थालेपछि भारत सरकारले यस विषयको जाँचबुझका लागि संयुक्त समिति बनायो । सीबीआईले हर्षदका साथै उनका दुई जना भाईहरु अश्विन र सुधीरलाई पक्राउन गर्यो । हर्षदविरुद्ध ७२ वटा आपराधिक मामिला र ६ सय भन्दा बढी घोटालाको मुद्दा दर्ता भयो ।  

यसपछि भारतमा त्यो भयो,जुन यसअघि कहिल्यै भएको थिएन । हर्षद मेहताले एउटा प्रेस सम्मेलनमा तत्कालिन प्रधानमन्त्री नरसिम्हा रावलाई एक करोड भारु घुस दिएको दाबी गरे । कांग्रेस र रावले यो आरोपको खण्डन गरे । यस विषयमा कहिल्यै पनि कुनै प्रमाण फेला परेन ।  

यसरी डुब्यो मेहताको ‘टाइटानिक’ जहाज

घोटाला प्रकरणमा जमानत पाएपछि मेहताले फेरी सेयर बजारमा कारोबार गर्न सुरु गरे । उनले एकपछि अर्को मुद्दामा जमानत पाईरहेका थिए । यस्तो लागिरहेको थियो थियो कि फेरी उनको दिन फिर्नेछ । तर सन् २००१ मा उनलाई पुनःपक्राउ गरियो र जेल चलान गरियो । जेलमै रहेका बेला सन् २००१ डिसेम्बर ३१ मा हृदयघातका कारण हर्षद मेहताको निधन भयो ।  

आरबीआईको रिपोर्टका अनुसार सन् १९९२ को यो घोटाला ४ हजार २५ करोड भारुबराबरको थियो । यसमा सबैभन्दा धेरै एसबिआई बैंकलाई घाटा लागेको थियो । एसबिआई बैंकसँग ६ सय करोड भारुबराबरको फ्रड भएको थियो ।  

हर्षद मेहता अदालतमा जब अदालतमा पेशीमा जान्थे तब उनको पक्षमा नाराबाजी गर्न भिड जम्मा हुन्थ्यो ।  

यो घोटाला प्रकरणको खुलासा गर्ने पत्रकारलाई सुचेतालाई सन् २००६ मा पद्मश्री अवार्ड प्रदान गरिएको छ । आफ्नो एउटा ब्लगमा सुचेता लेख्छिन्,‘मेहताको कमजोरी के थियो भने,उनी आफ्नो फर्मुला परिवर्तन गरेनन् । उनी आफ्नो जादुको प्रभाव  अब लगानीकर्तामा पर्दैन भनेर आँकलन गर्न असफल भए । उनी सधै देखावटी संसारमा रम्ने गर्थे । एसबिआई घोटाला काण्ड बाहिरिदा उनले मुम्बईको चिडियाघरमा भालुलाई बदाम खुवाउँदै फोटोसुट गराएका थिए । यसबाट उनी सेयर बजार सधैं उनको इशाराबाट चल्छ भनेर देखाउन चाहन्थे ।’-एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.