बुधबार, जेष्ठ १३,२०८३ 09:55:08
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 09:55:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राज्य निदाएको बेला विमानस्थलबाट ‘सेटिङ एक्सप्रेस’ : कोको मिलेर पठाउँदैछन् अवैध चुरोट ?

Laxmi Sunrise Bank Limited
राज्य निदाएको बेला विमानस्थलबाट ‘सेटिङ एक्सप्रेस’ : कोको मिलेर पठाउँदैछन् अवैध चुरोट ?
Shivam Cement

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को कार्गो तथा भन्सार क्षेत्रलाई प्रयोग गरी संगठित रूपमा चुरोट तस्करी भइरहेको, त्यसमा भन्सार कर्मचारी, सुरक्षा निकायसँग निकट सम्बन्ध भएका व्यक्तिहरू र केही व्यवसायिक समूह संलग्न रहेको दाबी गर्दै गम्भीर आरोपसहितको उजुरी सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ मा समेत दर्ता गरिएको भनिएको उक्त उजुरीमा विमानस्थल कार्गो क्षेत्रलाई नै “अवैध निर्यातको सुरक्षित ट्रान्जिट पोइन्ट” बनाइएको आरोप लगाइएको छ ।

Bizshala
New Office
CG Motors

उजुरीमा उल्लेख भएअनुसार, करिब एक महिनादेखि विमानस्थलको कार्गो/भन्सार गोदाममा रोकिएको ४ कार्टुन सामानलाई अब अष्ट्रेलिया, बेलायत वा अमेरिकातर्फ अवैध रूपमा पठाउने अन्तिम तयारी गरिएको छ ।

तर, यो प्रकरणको सबैभन्दा गम्भीर पक्ष भनेको– कानुनले फ्याक्ट्री वा अधिकृत उत्पादक कम्पनीलाई मात्र अनुमति दिएको चुरोट तथा सुर्तीजन्य वस्तुको निर्यात प्रक्रियालाई “स्थानीय खरिद बिल” को आधारमा वैध देखाउने प्रयास भएको आरोप हो।

‘लोकल बिल’ बाटै चुरोट निर्यात ?

नेपालको अन्तःशुल्क कानुनअनुसार चुरोट, सुर्तीजन्य पदार्थजस्ता Excise Duty लाग्ने वस्तु निर्यात गर्दा उत्पादक कम्पनीको प्रत्यक्ष संलग्नता, आधिकारिक इजाजतपत्र र फ्याक्ट्रीबाटै जारी हुने चलानी अनिवार्य मानिन्छ ।

तर, उजुरीमा दाबी गरिएअनुसार, कुनै फ्याक्ट्री कागजात नै नराखी सामान्य स्थानीय खरिद बिल (Local Purchase Bill) को भरमा सामानलाई “क्लियर” गराउने प्रयास भइरहेको छ ।

यदि आरोप सत्य ठहरियो भने यो केवल भन्सार छली वा तस्करीको मामिला मात्र नभई, राज्यको राजस्व प्रणालीमाथि संगठित प्रहार मानिने जानकारहरू बताउँछन् ।

एक पूर्व भन्सार अधिकारी भन्छन्,“फ्याक्ट्रीको आधिकारिक एक्साइज ट्र्याकिङबिना चुरोट निर्यात हुनु भनेको कानुनलाई खुला चुनौती दिनु हो। यस्तो काम सामान्य कर्मचारीको तहबाट सम्भव हुँदैन, माथिल्लो तहको संरक्षणबिना यस्तो नेटवर्क चल्न सक्दैन।”

Garima Development Bank
Shivam Cement
Bizshala

को हुन् आरोपको केन्द्रमा ?

उजुरीमा विभिन्न व्यक्ति र समूहलाई प्रत्यक्ष रूपमा तस्करी नेटवर्कसँग जोडिएको दाबी गरिएको छ ।

त्यसमध्ये, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA) का अध्यक्ष राजेन्द्र संग्रौलालाई “मुख्य सेटिङकर्ता” भन्दै भन्सार कर्मचारी र सुरक्षा निकायसँग मिलेमतो गरी रकम व्यवस्थापन र बाँडफाँड गर्ने भूमिकामा रहेको आरोप लगाइएको छ ।

यस्तै, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उप-महानिर्देशक ध्रुव विश्वकर्मा र उप-सचिव अशोक घिमिरेमाथि फ्याक्ट्री कागजातबिना सामानलाई वैध देखाउने प्रक्रियामा संलग्न रहेको दाबी गरिएको छ ।

उजुरीमा एयरपोर्ट अराइभल क्षेत्रभित्र रहेको ब्ल्याक डायमण्ड होटलका सञ्चालक लक्ष्मण देवकोटाले सुरक्षा र प्रहरीसँग “सेटिङ” मिलाउने भूमिका खेलेको तथा रोकिएको सामान पास गराउन रु. ५ लाख नगद बुझेको आरोपसमेत लगाइएको छ ।

त्यस्तै, विमानस्थलअगाडि सञ्चालनमा रहेको एपेक्स होटल तथा एपेक्स करियरसँग सम्बन्धित दिपेश सुवेदी र माधव सुवेदीलाई अवैध सामान संकलन, प्याकिङ र निर्यात व्यवस्थापनमा संलग्न मुख्य लगानीकर्ताका रूपमा चित्रण गरिएको छ ।

नेपालको कार्गोमाथि अन्तर्राष्ट्रिय निगरानी बढ्दो

यो प्रकरण केवल एउटा ‘४ कार्टुन’ को घटना मात्र नभएको दाबी स्रोतहरूको छ ।

विगत केही वर्षयता कपडा, खाद्य सामग्री वा व्यक्तिगत सामानको आवरणमा सुर्तीजन्य वस्तु पठाउने घटनाहरू बढेपछि अष्ट्रेलिया, बेलायत र अमेरिका जस्ता मुलुकहरूले नेपालबाट जाने कार्गोमाथि निगरानी कडा बनाएका छन् ।

कार्गो व्यवसायसँग सम्बन्धित एक स्रोतका अनुसार, “केही व्यक्तिको अवैध धन्दाका कारण अहिले वैधानिक निर्यातकर्तासमेत शंकाको घेरामा परेका छन् । नेपालबाट पठाइने कार्गो धेरै ठाउँमा ‘हाइ रिस्क’ क्याटेगोरीमा राखिन थालेको छ।”

यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली निर्यातकर्ताको विश्वसनीयता कमजोर पार्नुका साथै, वैधानिक व्यवसायीलाई अतिरिक्त जाँच, ढिलाइ र आर्थिक भार थपिएको गुनासो बढिरहेको छ ।

प्रश्नको घेरामा विमानस्थल सुरक्षा प्रणाली

सबैभन्दा संवेदनशील पक्ष भनेको-अन्तर्राष्ट्रिय विमानस्थलजस्तो उच्च सुरक्षा क्षेत्रभित्र यति ठूलो सेटिङ सम्भव कसरी भयो ?

यदि सामान्य लोकल बिलका आधारमा चुरोटजस्तो संवेदनशील वस्तु कार्गोमार्फत बाहिरिन लागेको हो भने, यसले नेपालको भन्सार प्रणाली, सुरक्षा संयन्त्र र राजस्व प्रशासनको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ ।

अहिलेसम्म सम्बन्धित निकायहरूले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । आरोपित पक्षहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।

तर, उजुरी सार्वजनिक भएसँगै विमानस्थल कार्गो क्षेत्रमा लामो समयदेखि चलिरहेको भनिएको ‘सेटिङ अर्थतन्त्र’ फेरि चर्चामा आएको छ ।

अब प्रश्न उठेको छ- के यो केवल एउटा सानो खेपको कहानी हो, वा विमानस्थलभित्र वर्षौंदेखि मौलाउँदै आएको संगठित तस्करी साम्राज्यको एउटा झिल्को मात्रै ?

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.