Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

चन्द्रागिरीको सेयरमा वाइकोले चलखेल गरेको लगानीकर्ताको आरोप

वाइको भन्छ-'बगका कारण यस्तो भयो, नेप्सेको ढिलाईले थप समस्या'

Global IME Bank Limited
चन्द्रागिरीको सेयरमा वाइकोले चलखेल गरेको लगानीकर्ताको आरोप
Nabil Bank Limited

काठमाण्डौं । पछिल्लो समय चन्द्रागिरी हिल्सको सेयर दोस्रो बजारमा निकै चर्चामा छ । यो कम्पनीको संस्थापक सेयरको लकिङ पिरियड खुलेदेखि नै लगातार २ दिन पोजिटिभ सर्किट लागेको छ । बिहीबारको कारोबारमा पनि यो कम्पनीमा केही अस्वभाविक खरिद अर्डर देखिएको छ । यो कम्पनीको चुक्तापुँजी नै जम्मा डेढ अर्ब रुपियाँ रहेको छ । अर्थात नेप्सेमा कम्पनीको डेढ करोड कित्ता सेयर सूचीकृत छन् ।  

बिहीबार कारोबार खुलेको ५ मिनेटभित्र कम्पनीको चुक्तापुँजीभन्दा ३० गुणा बढी अर्थात ४ अर्ब २९ करोड कित्ता सेयर माग भएको मार्केट डेप्थमा देखिएको थियो । कारोबारको सुरुवातमै यस्तो अस्वभाबिक माग देखिएपछि लगानीकर्ताहरुले नेप्सेले सञ्चालनमा ल्याएको ट्रेड म्यानेजमेन्ट सिस्टमको प्रमुख भेण्डर कम्पनी वाइकोमाथि चन्द्रागिरी हिल्सको सेयरमा चलखेल गरेको संगीन आरोप लगाएका छन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सक्रिय लगानीकर्ता एसपी चौलागाईले वाइको कम्पनी र चन्द्रागिरी हिल्सका मुख्य लगानीकर्ता एउटै समूह रहेको र यहीकारण पनि वाइकोमार्फत चलखेल भएको आरोप लगाए । चांैलागाइले प्राइभेट कम्पनीलाई नेप्सेको डेटा उपलब्ध गराउनु तथा आर्थिक कारोबारको जिम्मा लगाउनु गलत भएको पनि बताए । उनले प्रश्न गर्दै भने–‘सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्जभन्दा वाइको कम्पनी माथि देखियो । लाखौं कित्ता कसरी खरिद अर्डरमा राख्न मिल्यो ? वाइकोले पहिलो अर्डर राखेर नै दैनिक रुपमा १० प्रतिशत सर्किट लगाइरहेको देखिन्छ । यसले अब फेरि यो कम्पनीमा सोझासोझा नै फस्ने हो । लकिङ खुलेको पहिलो दिन नै अस्वभाविक माग देखाएर कम्पनीको  सेयरभाउ माथि पुर्याउने खेल भयो । लकिङ खुल्दा सबै कम्पनीको सेयर घट्ने तर चन्द्रागिरीको सेयर बढ्ने कारण के हो ?’  

घटनाक्रमहरुले चन्द्रागिरीको संस्थापक सेयरको लकइन अवधि खुलेपछि डेटा म्यानुपुलेसन गरिएको प्रष्ट देखाएको उनको दाबी छ । चन्द्रागिरीको सेयरमूल्यमा खुलेआम चलखेल हुँदा समेत नियामक भने मूकदर्शक बनेकोमा उनी असन्तुष्ट छन् ।  

बिहीबार नै कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६)मा भेटिएका एक लगानीकर्ताले वाइको कम्पनीले लगानीकर्ताको गोप्य कारोबारमा लामो समयदेखि निगरानी गर्ने गरेको आरोप लगाए । उनले भने–‘तपाइँले ५ हजारभन्दा बढी कित्ता सेयर किन्नुस्, त्यसको रेकर्ड बजारमा आइहाल्छ ।’ त्यसरी कसले सेयर किन्यो भन्ने वाइको कम्पनीले लिक गर्ने गरेको पनि ती लगानीकर्ताले आरोप लगाए ।  

वाइकोका प्रबन्ध निर्देशक दीपेश प्रधानले लगानीकर्ताले आरोप लगाएजस्तो र बजारमा हल्ला भएजस्तो आफूहरुले कुनै पनि कम्पनीको सेयर वा सेयरमूल्यमा चलखेल नगरेको र गर्न नसक्ने प्रष्ट पारे । टिएमएसमा बेला बेला दुःख दिइरहने एउटा बगका कारण डिस्प्लेमा एकैपटक धेरै कित्ता माग भएको देखिएको उनको प्रष्टीकरण छ । ‘यो लामो समयदेखि बेला बेला आइरहेको समस्या हो । चन्द्रागिरीमा मात्र होइन, बजारमा बढी चल्ने केही स्क्रीप्टमा बेला–बेला यो बगले दुःख दिंदै आएको थियो ।’ प्रधानले भने–‘चन्द्रागिरीमा पनि त्यही बगले समस्या बनाएको हो । हामीले यसको दीर्घकालीन समाधान खोजेर कार्यान्वयनका लागि नेप्सेको स्वीकृति मागेको करिब ६ महिना जति नै भयो । स्वीकृति आउन ढिलाई हुँदा आज चन्द्रागिरीमा फेरि पुरानै समस्या दोहोरिएको मात्र हो ।’  

मार्केटडेप्थमा मात्रै अस्वभाविक बाई अर्डर देखिने र कारोबारको क्रममा यसले कुनै पनि फरक नपरेको उनको दाबी छ । ‘बजारमा गरिएको चर्चा जस्तो यो समस्या क्रिटिकल चिज नै होइन ।’ उनले थपे–‘हाम्रो सुझाव कार्यान्वयनका लागि नेप्सेको अप्रूभल चाहिन्छ । उसले स्वीकृति दिएपछि उसैले उपलब्ध गराएको पासवर्ड राखेर हामीले सिस्टममा काम गर्ने हो । हामीले नेप्सेबाटै पासवर्ड माग्नुपर्छ । नेप्सेबाट ओके भएपछि बगलाई निस्क्रिय बनाउने हाम्रो काम हो । नेप्सेले जति छिट्यो अप्रूभल दियो, उति छिटो काम हुन्छ।’

उनले चन्द्रागिरीका कारण बजार तातेको र अब चाहिँ नेप्सेबाट पनि चाँडै सिस्टममा देखिएको बगलाई डिसेबलका लागि आवश्यक काम गर्ने गरी अप्रूभल आउने आशा व्यक्त गरे ।  

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले बगका कारण कतिपय स्क्रीप्टमा समस्या भइरहेको विषयमा आफूहरुलाई वाइकोले  पहिलादेखि नै जानकारी गराएको प्रष्ट पारे । ‘बगकै कारण मार्केट डेप्थमा एक्टिभ नभएको पुराना अर्डरहरु पनि जोडिएर डिस्प्ले हुँदा(गार्वेज आउने) यस्तो समस्या देखिने रहेछ ।’ उनले भने–‘वाइकोले समाधानको प्रयास गरिरहेको जानकारीमा छ । चाँडै हल हुन्छ ।’

पहिला पनि यस्तै समस्या आएको थियो  

बजारमा दाबी गरिएजस्तो मार्केट डेप्थमा चन्द्रागिरी हिल्सको सेयरमा मात्र यस्तो समस्या आएको होइन वा यस्तो घटना पहिलो भने होइन । यसअघि अन्य केही कम्पनीहरुको बाई वा सेल अर्डरमा समेत यस्तै अस्वभाविक कित्ताहरु डिस्प्ले भएका थिए । यसका कारण पनि बग नै रहेको बताइएको छ ।  

जस्तो : यसअघि युनिलिभर नेपाल लिमीटेड, एचआइडिसीएलको संस्थापक सेयर तथा नेपाल रिपब्लिक मिडिया लगायतका सेयरमा समेत यस्तै समस्या देखिएको थियो ।  

एचआइडिसिएलको संस्थापक सेयरमा २०२३ को जून २० का दिन यस्तै समस्या देखिएको थियो:

नेपाल रिपब्लिक मिडियाको सेयरमा पनि सन् २०२३ अगस्ट ७ का दिन यस्तै समस्या थियो:

 

यसैगरी, युनिलिभरको सेयरमा भने सन् २०२४ को जनवरी ४ मा पनि यस्तै समस्या देखिएको थियो:

 

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.