बुधबार, कार्तिक ७,२०८१ 08:01:58
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:58
IME remit
Global IME Bank Limited

अभिकर्ता कमिशनमा झिनो वृद्धि, अध्यक्ष अधिकारी भन्छन्,‘बजार सुस्तताका कारण बढ्न सकेन’

Hyundai Nepal
अभिकर्ता कमिशनमा झिनो वृद्धि, अध्यक्ष अधिकारी भन्छन्,‘बजार सुस्तताका कारण बढ्न सकेन’
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा आबद्ध भएका अभिकर्ताहरुले पाउने कमिसन १.५४ प्रतिशतले मात्रै बृद्धि भएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बीमा अभिकर्तालाई ८ अर्ब ९४ करोड २ लाख रुपैयाँ कमिशन प्रदान गर्न छुट्याएका छन् ।  

यो रकम गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा जम्मा १.५४ प्रतिशतले मात्रै बढी हो । गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई प्रदान गर्ने कमिशन ८ अर्ब ८० करोड रुपैया छुट्याएका थिए ।  

तेस्रो त्रैमाससम्म आइपुग्दा ६ वटा कम्पनीको मात्रै अभिकर्ता कमिशन गत वर्षको तुलनामा वृद्धि भएको छ । बाँकी ८ वटा कम्पनीको भने गत आवको तुलनामा अभिकर्ता कमिशन घट्न पुगेको छ ।  

बीमा कम्पनी र बीमितबीचका बीचमा मध्यस्थकर्ता रुपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभइ कमिशनको आधारमा बीमा कम्पनीको तर्फबाट काम गरेका हुन्छन् ।  

जीवन बीमा अभिकर्ताले पहिलो वर्ष प्रिमियम रकमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत कमिसन र त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन पाउने व्यवस्था छ । अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुन्छ ।

नेपाल बीमा प्राधिकरणले गत वर्षदेखि अनलाइनमार्फत नयाँ अभिकर्ता परिक्षा सञ्चालन गर्दै आइरहेको छ । गत वर्ष माघ महिनादेखि जीवन बीमा कम्पनीहरुमा हजारौं नयाँ अभिकर्ताहरु थपिने क्रम जारी छ । नयाँ अभिकर्ताहरु थपिएपनि बीमा कम्पनीको अभिकर्ता कमिशन भने गत आवको तुलनामा खासै बढेको देखिदैन ।  

बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको तुलनामा ६.३५ प्रतिशतले मात्रै बृद्धि भएको छ । वैशाखसम्म जीवन बीमा कम्पनीले १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको सो अवधिसम्म जीवन बीमकहरुले १ खर्ब १४ अर्ब १० करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए ।  

त्यस्तै, जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन पनि गत आवको तुलनामा ३.८८ प्रतिशतले मात्रै वृद्धि भएको छ ।  

बीमा कम्पनीले सोचेजस्तो व्यवसाय बढाउन नसक्दा अभिकर्ता कमिशन समेत उल्लेख्य बृद्धि हुन नसकेको हो । बीमा अभिकर्ताले भित्र्याउने विजेशकै आधारमा बीमा कम्पनीले कमिशन प्रदान गरेका हुन्छन् । हजारौं नयाँ अभिकर्ताहरु थपिएपनि बीमा कम्पनीमा न त व्यवसाय ग्रोथ हुन सकेको छ न त अभिकर्ताले प्राप्त गर्ने कमिशन नै ।  

बीमा अभिकर्तालाई सर्वाधिक प्रथम बीमा शुल्कबाट कमिसन प्राप्त हुन जान्छ । यदि अभिकर्ताले कुनै एक बीमितको बीमा गराएपश्चात् बीमितले पहिलो बीमा शुल्क अर्थात प्रिमियम १ लाख रुपैयाँ तिरेमा अभिकर्तालाई पहिलो प्रिमियमबाट २५ हजार रुपैयाँ प्राप्त हुन जान्छ । त्यस्तै, दोस्रो बीमा शुल्कबाट १ लाख रुपैयाँ प्रिमियमको १५ प्रतिशत अर्थात् १५ हजार रुपैयाँ प्राप्त हुन जान्छ ।  

जीवन बीमा कम्पनीहरुमा प्रथम बीमा शुल्क आर्जन बढ्न सकिरहेको छैन । बीमा प्राधिकरणका अनुसार अझैपनि नेपालको आधा भन्दा बढी जनसंख्याले बीमा नगराएको अर्थात् ५० प्रतिशत भन्दा बढी जनसंख्या बीमाको दायरामा छैनन् । बीमा अभिकर्ता जीवन बीमा कम्पनीको मेरुदण्डको रुपमा रहेपनि पछिल्लो केही समययता देशको अर्थतन्त्र शिथिल हुँदा अभिकर्ताहरुले सोचेजस्तो व्यवसाय ल्याउन नसकिरहेको अवस्था छ ।  

बजारमा मुद्रा चलायमान कम हुन पुग्दा जीवन बीमा कम्पनीको व्यवसाय बढ्न नसक्दा यसको प्रत्यक्ष असर बीमा अभिकर्ता कमिशनमा पुगेको पेशागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले बताए ।  

‘अभिकर्ताले पाउने कमिशन बीमा कम्पनीको व्यवसायसँग जोडिएको हुन्छ । पछिल्लो समय बजारको सुस्ताले गर्दा बीमा कम्पनीको व्यवसाय सोचेजस्तो बढ्न सकिरहेको छैन, जसको प्रभाव अभिकर्ता कमिसनमा देखिन पुगेको छ’ अधिकारीले भने, ‘बजारमा सुस्तता छाउँदा व्यापार व्यवसाय बढ्न सकिरहेको छैन, ठूला घराना तथा व्यापारीहरुको व्यवसायमा तीव्रता नआउँदा जीवन बीमा व्यवसायमा समेत यसको असर परेको छ ।’

Bizshala
Shivam Cement
CG Motors

देशको सिंगो अर्थतन्त्रसँग जीवन बीमा कम्पनीको व्यवसाय आपसी सम्बन्ध रहने अधिकारीको भनाई छ । ‘केही समययता हुने खाने अर्थात उच्च वर्गको बीमा घटेको देखिन्छ, लगानीको वातावरण सिर्जना हुन थालेको छ र बैंक तथा वित्तीय संस्थामा कर्जाको व्याज तिर्ने समय हुँदा उच्च वर्गको बीमा घट्न पुगेको हो, जसरकाण बीमा कम्पनीको व्यवसायमा उल्लेख्य सुधार नदेखिएको हुन सक्छ’ उनले भने, ‘बीमा नियमावली नआउनु पनि बीमा कम्पनीको व्यवसाय नबढ्नु एउटा कारण हो । जीवन बीमा कम्पनीमा व्यवसाय भित्राउने अभिकर्ताका लागि बीमा नियमावली नआउँदा अभिकर्ताले पर्याप्त व्यवसाय ल्याउन नसकेको हुन सक्छ ।’

जीवन बीमकले छुट्याए झण्डै ९ अर्ब अभिकर्ता कमिसन

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ८ अर्ब ९४ करोड रुपैयाँ अभिकर्ता कमिसन छुट्याएका छन् । यो रकम गत आवको यसै अवधिसम्मको तुलनामा १.५४ प्रतिशत मात्रै धेरै हो । गत आवको सो अवधिसम्म जीवन बीमा कम्पनीले ८ अर्ब ८० करोड रुपैयाँ अभिकर्ता कमिसन छुट्याएका थिए ।  

चालु आवको चैत मसान्तसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ अभिकर्तालाई कमिसन दिन छुट्याएको छ । जीवन बीमा कम्पनीमा सर्वाधिक व्यापार गर्ने नेपाल लाइफमा अभिकर्ताको संख्या पनि धेरै छ । अभिकर्ताको संख्या धेरै हुँदा उनीहरुलाई प्रदान गर्ने कमिसन रकम पनि स्वतः धेरै हुन पुगेको हो ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफले १ अर्ब १६ करोड रुपैयाँ, हिमालयन लाइफले ९९ करोड ८१ लाख, एलआइसी नेपालले ९३ करोड ५९ लाख, सुर्यज्योति लाइफले ५७ करोड ९८ लाख, एशियन लाइफले ५० करोड १५ लाख, सिटिजन लाइफले ४३ करोड ३५ लाख, सानिमा रिलायन्स लाइफले ४३ करोड ३१ लाख, मेट लाइफले ३६ करोड ७ लाख, प्रभु महालक्ष्मी लाइफले ३३ करोड ५० लाख, रिलायबल नेपाल लाइफले ३२ करोड ७८ लाख, आइएमई लाइफले ३१ करोड १७ लाख, सन नेपाल लाइफले २२ करोड ९७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १३ करोड ८९ लाख रुपैयाँ अभिकर्तालाई प्रदान गर्न कमिसन छुट्याएको छ ।  

८ वटा कम्पनीको घट्यो अभिकर्ता कमिशन  

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ८ वटा कम्पनीको अभिकर्ता कमिशन घटेको छ । सर्वाधिक सिटिजन लाइफको १२.५८ प्रतिशतले घटेको छ ।  

गत आवको तेस्रो त्रैमाससम्म अभिकर्तालाई ४९ करोड ५९ लाख रुपैयाँ कमिसन बाँडेको सिटिजन लाइफले चालु आवको तेस्रो त्रैमाससम्म ४३ करोड ३५ लाख रुपैयाँ मात्रै कमिशन छुट्याएको छ ।  

त्यस्तै, एलआइसी नेपालको पनि ११.०९ प्रतिशतले अभिकर्ता कमिसन घटेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ९३ करोड ५९ लाख रुपैयाँ अभिकर्ता कमिशन छुट्याएको छ । गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ छुट्याएको थियो ।  

त्यस्तै, रिलायबल नेपाल लाइफको १०.२८ प्रतिशत, सन नेपाल लाइफको ८.७७ प्रतिशत, हिमालयन लाइफको ६.३४ प्रतिशत, आइएमई लाइफको ४.४२ प्रतिशत, एशियन लाइफको ३.८७ प्रतिशत र नेपाल लाइफको १.८८ प्रतिशतले अभिकर्ता कमिसन घटेको छ ।  

त्यस्तै, सर्वाधिक अभिकर्ता कमिसन बढाउनेमा भने सानिमा रिलायन्स लाइफ अगाडी रहेको छ । गत वर्षको सो अवधिसम्म २२ करोड ९६ लाख रुपैयाँ मात्रै अभिकर्ता कमिसन छुट्याएको सो कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ८८.६३ प्रतिशतले बढाएर ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन छुट्याएको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ५८.८४ प्रतिशत, सुर्यज्योति लाइफले २२.९० प्रतिशत, नेशनल लाइफले ६.६९ प्रतिशत, मेट लाइफले २.३६ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीले १.०१ प्रतिशतले यस्तो कमिशन बढाएका छन् ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.