काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको सेयर बजारमा ८० अर्ब ६१ करोड बराबरको धितोपत्र थपिएका छन् ।
नेपाल राष्ट्रबैंककाअनुसार यो अवधिमा ६४ अर्ब ८५ करोड बराबरको साधारण सेयर, ९ अर्ब ५३ करोड बराबरको बोनस सेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद सेयर र ३ करोड बराबरको एफपीओ थपिएको हो ।
सेयर बजारमा मागभन्दा सप्लाई बढी भएको गुनासाहरु सुनिइरहेको बेला यस्तो आँकडा सार्वजनिक भएको हो ।
धितोपत्रहरु थपिएसँगै विभिन्न समूहहरुको सेयर बजारमा बजार हिस्साको अवस्था समेत परिवर्तन भएको छ । अब सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० पुस मसान्तमा सूचीकृत ८ अर्ब १७ करोड शेयरको चुक्तामूल्य रु.८०९ अर्ब ८३ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
२०७९ पुस मसान्तमा २१४९.३९ रहेको नेप्से सूचकाङ्क २०८० पुस मसान्तमा २१२०.६२ कायम भएको छ ।
२०८० पुस मसान्तमा धितोपत्र बजार पूँजीकरण रु.३३३० अर्ब ७५ करोड कायम भएको छ । २०७९ पुस मसान्तमा बजार पुँजीकरण रु.३१०३ अर्ब १६ करोड रहेको थियो ।
पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                