काठमाण्डौ । फागुन र चैत महिना नेपाली सेयर बजारका लागि उतारचढावपूर्ण रह्यो। नेप्से बढेर २८९० को विन्दूमा पुगेर माथि उक्लिन खोजेको बजार एकाएक तल झर्न थालेको थियो । दुई साताको अवधिमा २०० अंकभन्दा बढीले घटेर नेप्से परिसूचक २६९७ को विन्दूमा सीमित भइसकेको छ ।
राजावादीहरुको सम्भावित आन्दोलन, त्यसको प्रतिवादमा गणतन्त्रवादीहरुले राखेको प्रदर्शन लगायतका कारण राजनीतिक अस्थिरता हुने आँकलनसहित लगानीकर्ता डराएपछि बजार अस्थिर बनिरहेको देखिन्छ । यही डरका कारण नेपाली स्टकहरू अस्वस्थ रूपमा तलमाथि भइरहेका छन्।
नेप्सेमा यस्तो अनिश्चितता देख्दा धेरै लगानीकर्ताहरू चिन्तित हुन सक्छन्, तर डराएर स्टक बेच्नु झनै खराब निर्णय हुनसक्छ।
विज्ञका अनुसार बजारको अस्थिरता अपेक्षाकृत सामान्य कुरा हो। अन्तराष्टिय स्तरका एक विज्ञ भन्छन् -'बजार अस्थिरता भनेको लगानीकर्ताहरूले दीर्घकालीन फाइदाका लागि तिर्ने शुल्क जस्तै हो।'
बजारको अस्थिरता छोटो अवधिको विशेषता हो। स्टक मूल्यहरू हालको उच्च विन्दुबाट १० प्रतिशत घट्दा यसलाई 'करेक्शन' भनिन्छ, जुन स्वाभाविक प्रक्रिया हो। इतिहासले देखाएको छ कि नेपाली सेयरबजार दीर्घकालमा उच्च बिन्दुतर्फ जान्छ, जसले धैर्यपूर्वक लगानी गर्नेहरूलाई फाइदा नै पुर्याउँछ।
नेप्सेलाई नजिकबाट नियालेका एक भेटेरान लगानीकर्ताले भनेका छन् -'मलाई स्टक बजारको हालको गिरावटको कुनै चिन्ता छैन। म ३५ वर्षदेखि लगानी व्यवसायमा छु, र सुधारहरू बजारका स्वस्थ संकेत हुन्। बजार सधैं माथि मात्र जाने भयो भने त्यो अस्वस्थ हुन्छ।'
तथापि, आफ्नो पोर्टफोलियो दैनिक रुपमा घटिरहेको देख्दा जोकसैलाई पनि तनाव हुनसक्छ। यदि तपाईं लामो समयका लागि लगानी गर्दै हुनुहुन्छ भने, यस्ता अनिश्चित परिस्थितिहरूमा शान्त रहनु नै उत्तम उपाय हो।
अमेरिकाको उलिन एण्ड कम्पनी वेल्थ म्यानेजमेन्टका प्रमुख कार्यकारी जोन उलिनले सिएनबिसी न्यूजको एक अन्तर्वार्तामा भनेका छन् -'बजारमा भावनात्मक रूपमा प्रतिक्रिया जनाउनु खतरनाक हुनसक्छ। प्यानिक सेलिङले अक्सर घाटा मात्र बढाउँछ र पुनः सुधार हुने अवसरहरू गुमाउँछ।'
सही समय कुन हो ?
विज्ञहरुका अनुसार कसैले पनि बजारको सही समय अनुमान गर्न सक्दैन। अस्थिरताका कारण बजारको भविष्य निश्चित रूपमा भन्न सकिन्न। त्यसैले, सही समय कुर्नु भन्दा निरन्तर लगानीमा रहनु राम्रो रणनीति मानिन्छ। जो लगानीकर्ताहरू बजार अस्थिर हुँदा स्टक बेच्छन्, उनीहरू दीर्घकालमा घाटामा पर्न सक्छन्।
'तपाईंको पोर्टफोलियोलाई सुरक्षित राख्नु भनेको बजारको सही समय पत्ता लगाउनु होइन, बरु बजारमा स्थिर रूपमा लगानी गरिरहनु पनि हो ।'- उलिनले भने ।
के भइरहेको हो बजारमा ?
राजावादीहरुको 'निकै प्रभावशाली' मानिएको प्रदर्शनपछि नेप्सेको गिरावट थामिएको छैन । लगानीकर्ता लगातार डराउँदै घाटामै सेयर बेचिरहेका छन् । राजनीतिक वातावरण अझै खलबलिने त्रासका कारण नेप्सेको गिरावट थामिन सकेको छैन । चैत १५ गते राजावादी र गणतन्त्रवादीहरुकै प्रदर्शन छ । त्यसपछि राजनीतिमा कुनै उथलपुथल होला कि भनेर लगानीकर्ता डराएका छन् ।
एकातिर राजनीतिक उथलपुथलको डर लगानीकर्तामा छ भने अर्कोतर्फ सत्तापलट नै होला कि भन्ने आशंका गर्नेहरु पनि देखिन थालेका छन् । गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने हल्लेबाजहरुको पछाडि लाग्दा समेत कतिपय लगानीकर्ताहरु डराएका देखिन्छ, जुन गलत प्रवृति हो ।
चैत मसान्त कर्जाको ब्याज तिर्नुपर्ने समय भएकोले यसको दवाबले समेत केही ठूला लगानीकर्ताहरुले सप्लाई बढाइरहेको कतिपयको तर्क छ, जुन केही हदसम्म सही पनि छ ।
विज्ञहरुकोअनुसार इतिहासले देखाएको छ कि १० प्रतिशतभन्दा कमको गिरावटपछि बजार तुलनात्मक रूपमा छिटो सुधार हुन्छ। यसको अर्थ नेप्सेमा अब ठूलो गिरावट आउने सम्भावना रहन्न । किनभने राजनीतिक डरले सधैं काम गर्दैन । बरु बजारमा सकारात्मक प्रभाव पार्ने थुप्रै फ्याक्टरहरुलाई हेरेर आगामी दिनमा लगानीकर्ताहरुले खरिदारी बढाउन सक्नेछन् । ठूला लगानीकर्ता पनि नयाँ गभर्नरको नियुक्तिपछि आक्रामक रुपमा बजारमा प्रवेश गर्नसक्छन् । त्यसबेलासम्म राजनीतिक डर समेत हराइसकेको हुनेछ भने चैत मसान्तको दवाब समेत सकिइसकेको हुनेछ ।
तर बजारमा अनुमानविपरीत अनिश्चितता रहिरहे पनि, लगानी रणनीति बलियो बनाउन बजार आधारभूत कुरामा ध्यान दिनु आवश्यक छ।
भिन्न-भिन्न किसिमका स्टक र बन्डहरूमा लगानी गर्दा घाटा कम गर्न सकिन्छ। अस्थिर बजारमा यो झन् महत्वपूर्ण हुन्छ। 'विविधीकरण भनेको लगानीकर्ताको सीटबेल्ट हो, जसले बजार अस्थिर हुँदा सुरक्षित राख्छ ।'
कस्तो बनाउने रणनीति ?
लगानी रणनीति सबैका लागि एउटै हुँदैन। हरेक लगानीकर्ताको वित्तीय लक्ष्य र जोखिम सहने क्षमतामा फरक हुन्छ।
बजार अस्थिर हुँदा तपाईंको लक्ष्यहरू अझै सही छन् कि छैनन् भनेर समीक्षा गर्नु राम्रो हुन्छ। उदाहरणका लागि, तपाईंलाई छिट्टै ठूलो खर्च गर्नु छ कि छैन ? आपतकालीन कोष कति छ ? के अहिले बजारमा सस्तो भएका स्टकहरू खरिद गर्ने अवसर हो ?
यदि तपाईं रिटायरमेन्टको नजिक हुनुहुन्छ भने, आफ्नो सम्पत्तिको केही हिस्सा सुरक्षित स्थान (जस्तै ऋणपत्र, म्युचुअल फण्डका इकाई, मुद्दति निक्षेपहरू)मा राख्नेबारे सोच्नु बुद्धिमानी हुन सक्छ।
निश्कर्षमा स्थिर रहनुहोस्, विविधीकरण अपनाउनुहोस्
बजार अस्थिर हुनु स्वाभाविक हो। त्यसैले, दीर्घकालीन लगानीकर्ताहरूले भावनात्मक रूपमा प्रतिक्रिया जनाउनु भन्दा विवेकपूर्ण योजना अपनाउनु महत्त्वपूर्ण हुन्छ।
'नियमित रूपमा आफ्नो पोर्टफोलियोको समीक्षा गर्नुहोस्, आवश्यकता अनुसार पुनः सन्तुलन गर्नुहोस्, र बजारको हल्लालाई वेबास्ता गर्नुहोस्' अमेरिकी विज्ञ उलिनको सुझाव छ-'दीर्घकालीन सफलता अनुशासनमा आधारित हुन्छ, प्यानिक बन्नुमा होइन।'

