काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक डा. चन्द्र बहादुर अधिकारीले घुसखोरी गरेको पुष्टि भएको छ । ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै उनले पैसा उठाएको पुष्टि भएको हो ।
राष्ट्र बैंकको छानबिनबाट उनले ऋणीसँग पैसा लिएको खुलेको हो । केन्द्रीय बैंकले अधिकारीलाई कारबाही र हर्जाना तिराउने समेत जानकारी गराएको छ । राष्ट्र बैंकको सञ्चालक समितिले उनलाई ५ लाख रुपैयाँ जरिवाना तिराउने भन्दै नेपाल बैंकमा पत्राचार गरेको जनाएको छ ।
अधिकारीले गत वर्ष ऋणीलाई ऋण मिलाइदिन्छु भनि अग्रिम कमिसन लिएका थिए । अधिकारीले ऋणीसँग कमिसन लिएपनि प्रक्रिया पुरा हुन केही समय लाग्ने बताएका थिए । ऋणीसँग लिएको कमिसन उनले आफ्नो नभई ड्राइभरको खातामा मागेका थिए ।
गत वर्ष बैंकिङ तरलता अभाव भएका कारण ऋणीसँग ऋण मिलाइने भन्दै कमिसन लिइसकेपछि अधिकारीले ऋण नदिने निर्णय गरे । कमिसन दिइसकेका ऋणीहरुले ऋण नपाउने भएपछि अधिकारी विरुद्धमा नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए ।
उजुरीकै आधारमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कडाइका साथ स्थलगत अनुगमन गरेपछि तथ्य खुलेको हो । अनुगमनका क्रममा अधिकारीले ड्राइभरको खातामा पैसाको कारोबार गरेको भेटिएपछि राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।