काठमाण्डौ । अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । अमेरिकी ट्रेजरी डिपार्टमेन्टले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले ‘पुनर्निर्माण लगानी कोष’ बनाउन सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई ‘बढी’ फाइदा हुने बताएका छन् ।
उनले भने, ‘बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिएका छन्। अब हामीले योभन्दा बढी रकम पाउनेछौं भन्ने सम्झौता गरेका छौं।’ यसअघि बुधबार अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले यो सम्झौतामा हस्ताक्षर गरेका थिए ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्झौता अन्तर्गत दुबै देशले आपसी सम्पत्ति, प्रतिभा र क्षमताले किभको पूननिर्माणलाई गति दिन सक्ने सुनिश्चित गर्न सहयोग गर्नेछन्।’
युक्रेनको दुर्लभ खनिजमा अमेरिकाको पहुँच सुनिश्चित गर्न किभ र वाशिङटनले केही महिनादेखि सम्झौतामा वार्ता गरिरहेका थिए ।