काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.४९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनको खुद मुनाफा ४३ करोड ५४ लाख रुपैयाँ थियो ।
कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १२ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले १२ अर्ब २ करोडबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको कुल आम्दानी १८ अर्ब ४८ करोड रहेको छ भने कुल खर्च १७ अर्ब १४ करोड रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले १४ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीको महाविपत्ती कोषको आकार ४७ करोड ८ लाख र रिटेन्ड अर्निङ १ अर्ब ९ करोड रुपैयाँबराबर रहेको छ । यो अवधिमा कम्पनीले ३० हजार ६५५ वटा बीमा पोलिसी जारी गरेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९७०.५१ रुपैयाँ, पीई रेसियो ६१.५१ गुणा कायम भएको छ ।