काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा सामाजिक सञ्जालमा सेयर गरेको एआई फोटोबारे प्रतिक्रिया दिएका छन् । ट्रम्पले त्यो तस्विर कहाँबाट आएको हो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
हालै ट्रम्पको सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसल र ह्वाइट हाउसको एक्स अकाउन्टमा एउटा तस्विर सेयर गरिएको थियो । तस्बिरमा ट्रम्पले पोपको सेतो लुगा र टोपी लगाएका थिए, उनको घाँटीमा ठूलो क्रस र एउटा औंला उठाएर गम्भीर इशारा गरेको थियो।
क्याथोलिक समूहले यसप्रति कडा आपत्ति जनाएको थियो। न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पले उनीहरूको विश्वासको खिल्ली उडाइरहेको आरोप लगाएको थियो।
रोयटर्सको रिपोर्टका अनुसार मे ५ मा एक पत्रकारले ट्रम्पलाई पोपको तस्बिरमा प्रश्न गरेका थिए । जवाफमा ट्रम्पले त्यो तस्विर आफूले नबनाएको बताएका थिए ।
ट्रम्पले भने, ‘मेरो यससँग कुनै सरोकार छैन। कसैले पोपजस्तै लुगा लगाएको मेरो तस्बिर खिचेर इन्टरनेटमा राख्यो। मैले त्यस्तो गरेको होइन। यो तस्विर कहाँबाट आएको हो मलाई थाहा छैन। तस्विर एआईले बनाएको हुन सक्छ, तर मलाई यसबारे केही थाहा छैन।’