काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आगामी जेठ २३ गते आयोजना गर्ने भएको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त सभा सुर्खेतको विरेन्द्रनगरमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञचालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात तथा सोही अवधिसम्मको नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने र आव २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । । यसका साथै सर्बसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्बाचन) गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनाका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।