काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका–४ अवस्थित संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा प्रदान गरेकोे छ । यस विद्यालयमा करिब १ हजार बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् र अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले सहयोग स्वरुप पंखाहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि उनले बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड(सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट १८ लाख ८८ हजार ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।