काठमाण्डौ । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ । जसलाई ह्वाइट हाउसले शनिबार पुष्टि गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा भएको भेटमा ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल–बुसैदीले आफूलाई अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरूबारे जानकारी दिएको बताए । यो प्रस्ताव यस्तो बेला आएको हो जब संयुक्त राष्ट्र संघको आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले आणविक हतियार बनाउन प्रयोग हुने युरेनियमको मात्रा बढाउन थालेको बताएको छ ।
ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले यो सम्झौता स्वीकार गर्नु इरानको हितमा हुने बताए । उनले भने, ‘राष्ट्रपति ट्रम्पले इरानलाई कहिल्यै आणविक बम बनाउन दिइने छैन भनी स्पष्ट रूपमा भनेका छन् ।’
लेभिटले यो प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफले तयार पारेकाले यो प्रस्ताव विस्तृत र स्वीकार्य रहेको पनि बताए ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सोसल मिडिया प्लेटफर्म एक्समा इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर यस प्रस्तावको जवाफ दिने बताएका छन् ।
हाल यो सम्झौताको बारेमा धेरै जानकारी सार्वजनिक गरिएको छैन।