काठमाण्डौ । बिहिबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । मध्यपूर्वी एशियामा बढेको तनाव र कमजोर डलरका कारण सुनको मूल्यमा उच्च वृद्धि भएको हो ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.५८ प्रतिशत अर्थात ५२.६४ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३७५ डलर कायम भएको छ ।
आज अमेरिकी डलर इन्डेक्स घट्दै दुई महिनाकै न्यून स्तरमा पुगेको छ । जसका कारण डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ । यस्ता लगानीकर्ताबाट सुनको माग बढ्दा मूल्य समेत बढ्न पुगेको छ ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनावका कारण अमेरिकीहरुलाई मध्यपूर्वबाट निकाल्ने घोषणा गरेसँगै यो क्षत्रेमा अनिश्चितता बढेको छ ।
आज चाँदीको भाउ भने केही घटेको छ । चाँदी आज ०.१५ डलरले घट्दै प्रतिऔंस ३६.३८ डलरमा कारोबार भईरहेको छ ।