काठमाण्डौ । सूचिकृत संस्था वा धितोपत्र दलाल व्यवसायीहरुबाट कुनै नियमको परिपालन नभएको अवस्थामा सूचिकृत संस्था र व्यवसायीको कारोबार निलम्बन हुने व्यवस्था खारेज हुनुपर्ने माग उठेको छ ।
सूचिकृत संस्था वा धितोपत्र दलाल व्यवसायीको कारोबार निलम्बन गर्दा लगानीकर्ताहरु बिनाकारण मारमा पर्ने भन्दै त्यसको साटो वित्तीय कारबाहीको व्यवस्था हुनुपर्ने माग उठेको हो ।
स्टक ब्रोकर एशोसिएसन अफ नेपालले पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्डलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि लिखित सुझाव पेश गर्दै यस्तो माग गरेको हो ।
ब्रोकरहरुले राफसाफ समयमै हुन नसकी दलाल व्यवसायीहरुको कारोबार निलम्बन हुने व्यवस्थाको साटो राफसाफ कोषलाई यथाशीघ्र कार्यान्वयनमा ल्याई सञ्चालन गर्न नेप्से र सिडिएसीलाई स्पष्ट निर्देशन दिनुपर्ने समेत सुझाएका छन् ।
यस्तै, उनीहरुले खरीदबापत भुक्तानी गर्नुपर्ने रकम तथा बिक्रीबापत धितोपत्र समयभित्रै जानाजान हस्तान्तरण नगर्ने लगानीकर्ताहरुलाई धितोपत्र कारोबार गर्न नपाउने गरी कालोसूचीमा राख्ने र कानूनी कारबाही हुने व्यवस्था मिलाउन समेत माग गरेका छन् । तर सेयर बेचेको पैसा तथा किनेको सेयर समयमै लगानीकर्तालाई नदिने ब्रोकरहरुलाई हुने कारबाहीको विषयमा चाहिँ सुझावमा मौनता साँधिएको छ ।
यस्तै, ब्रोकर एशोसिएसनले भित्री कारोबार, सर्कुलर कारोबार, पम्प एण्ड डम्प, जस्ता अबाञ्छित गतिविधिहरुको निगरानी गर्न यस्ता कारोबारीहरु, सूचिकृत संस्थाका सेयरधनी, सञ्चालक, कर्मचारी ति सबैका एकाघरपरिवार सदस्य, नातागोता सबैको विवरणहरुको सूची बनाई सम्पूर्ण व्यवसायीहरुले प्रयोग गर्ने कारोबार प्रणालीमा देखिने व्यवस्था गर्न निर्देशन प्रदान गर्नुपर्नेमा पनि जोड दिएको छ ।
यस्तै, धितोपत्र दलाल व्यवसायलाई अझ पारदर्शी बनाउन तथा आम सर्वसाधारण लगानीकर्ताहरुको सहभागितामार्फत अझ विश्वसनीयता सुदृढ गर्न निश्चित रिपोर्टिङका प्रावधानहरु राखेर ब्रोकर प्रोप्राइटरी ट्रेड खुलाउने तथा दलाल व्यवसायी कम्पनीहरुले सर्वसाधारणमा सेयर जारी गर्न पाउने कानूनी व्यवस्था गर्न समेत सुझाइएको छ ।
यस्तै, धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र बिस्तार गरी लगानी व्यवस्थापन तथा लगानी परामर्श सेवा प्रवाह गर्न अनुमति प्रदान गर्ने र मार्जिन ट्रेडिङको कार्यलाई पूर्ण कार्यान्वयन ल्याउनमा आएको नीतिगत र व्यवहारिक अड्चन हटाई सहजीकरण गरिदिन समेत भनिएको छ ।
यस्तै, धितोपत्र दोश्रो बजारमा सर्वसाधारणको पहुँच सहज बनाउन तथा बजारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत बिस्तार गर्न आधिकारिक प्रतिनिधि वा सब–ब्रोकरको अवधारणा लागू गर्न समेत माग गरिएको छ
सुझाव यस्तो छः





प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।