काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले यसै साताबाट अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको पनि नियमित रुपमा कारोबार गर्ने तयारी गरेको छ । नेप्सेस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार यसको तयारीको लागि नेप्सेको प्राविधिक टोलीको तयारी अन्तिम अवस्थामा रहेको छ ।
यससँगै अब कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर अब नियमित रुपमा नै कारोबार गर्न सकिने भएको छ । हाल यस्तो सेयर किनबेच गर्न या त लगानीकर्ताहरुले आफै ग्राहक खोज्नुपर्ने हुन्छ वा त्यही कम्पनीको थप १० कित्ता सेयर किनेर मात्रै सेयर कारोबार हुन्छ ।
यहि कठिन अवस्थालाई मध्यनजर गर्दै नेप्सेले छिट्टै अड लट सेयर पनि कारोबार गर्न मिल्ने व्यबस्था गर्न लागेको हो ।
यसो गर्दा दोस्रो बजारमा मुल्यलाई कुनै प्रभाब नपर्ने गरि खातामा भएको सेयर मात्रै अडलटमा सेयर कारोबार हुने नेप्से स्रोतले जानकारी दियो ।
यस्तो छ प्रक्रिया
सबै भन्दा पहिले लगानीकर्ताले आफूसँग कुन कम्पनीको सेयर अडलट छ भन्ने एकिन गुर्नुपर्ने हुन्छ । त्यसपछि नेप्सेको वेवसाइडमा गएर मार्केट डेप्थमा क्लिक गरि सकेपछि अडलटको अप्सन आउछ । त्यपश्चात अडलटमा क्लिक गरेपछि लगानीकर्ताले कुन–कुन कम्पनीको सेयर के–कति किनबेच गर्न बसेको छ भन्ने एकिन हुनेछ ।
यस आधारमा अब टीएमएसमा गएर सोहि मुल्यको आधारमा सेयर खरिद तथा बिक्री गर्न सकिनेछ । तर यसले नियमित कारोबारलाई भने कुनै असर गर्ने छैन ।