काठमाण्डौ । नयाँ टीएमएस लिएका ब्रोकरहरुबाट खातामा आएको दिनमै सेयर बेच्ने काम फेरि रोकिएको छ । एक ब्रोकरले दिएको जानकारी अनुसार यसअघि नयाँ टीएमएस लिएका ब्रोकरहरुले खातामा आएको दिनमै सेयर बेच्ने गरेका थिए । तर नयाँ टीएमएस लिएका केही ब्रोकरहरुले खातामा आएको दिनमै सेयर बेच्ने गरेको समाचार बाहिरिएपछि ब्रोकरहरुमा खैलाबैला मच्चिएको थियो ।
ती ब्रोकरका अनुसार नयाँ टीएमएसमा रियल टाइम डेटा अपडेट हुने भएका कारण खातामा आएको दिनमै सेयर बेच्न मिलेको थियो । रियल टाइम अपडेट हुँदाको अवस्थामा किनेको सेयर मात्रै नभएर धितोमा राखेको सेयर पनि अनप्लेजेज भएको खण्डमा बेच्न सकिन्छ ।
तर पुरानो टीएमएसमा भने डेटा अपडेट हुन एक दिन लाग्ने भएका कारण हाल लगानीकर्ताहरुको खातामा एक दिन सेयर रहने गरेको छ । रियल टाइम तथ्यांक अपडेट हुने टीएमएसबाट केही टाठाबाठा लगानीकर्ता र ब्रोकरहरुले २ दिनमा नै सेयर बेचेका थिए भने पुरानो टीएमएस चलाउनेहरुले तिन दिनमा सेयर बेच्न मिल्ने गरेको थियो ।
सीडीएसीले भने खातामा आएको दिनमै सेयर बेच्न मिल्ने बताँउँदै आएका छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले लगानीकर्ताले आफूसँग भएको सेयर बेच्न धितोपत्र ऐनले नरोकेको प्रतिक्रिया दिए । यस हिसाबले धितोपत्र ऐन अनुसार खातामा आएको दिनमा नै सेयर बेच्न कानूनी कुनैपनि अड्चन देखिदैन ।
तर पछिल्लोपटक पुरानो टीएमएसको भेण्डर कम्पनी वाईको कम्पनीले रियल टाइममा अपडेट गर्न नसक्दा पुरानो टीएमएस लिनेले खातामा सेयर आएको दिनमा नै सेयर बेच्न सकेका छैनन् । त्यसैगरि नयाँ टीएमएसको भेण्डर कम्पनी डीजीहब पनि पछि हटेको कारण खातामा आएको दिनमै सेयर बेच्नबाट लगानीकर्ता बञ्चित भएको कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर) ४६ का सञ्चालक नरेन्द्र सिजापतिले जानकारी दिए ।