काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।
मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। विभागको यस्तो अनुमानपश्चात प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।
‘मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु,’ प्रधानमन्त्रीले लेखेका छन् ।
मौसम विज्ञान विभागले आज देशभर साधारणतया बदली रहने जनाएको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।