काठमाण्डौ । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।
यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पुर्ण प्रक्रियागत कार्य गरी परिक्षण कारोबार समेत गरिसकेका छन् ।
यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सिएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सर्भिस ई–सीएमएस सेवामा पहुँच प्राप्त हुनेछ । जसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (नेफ्ट) रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस) र फण्ड ट्रान्सफर (एफटी) को प्रयोग गरी भारतको एचडीएफ बैंक मार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् ।
साथै, भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ । एचडीएफसी बैंकसँगको सम्झौता सँगै नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिट्यान्स मा संलग्न ग्राहकहरुलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ । साथै यो प्रणालीको प्रयोगसँगै बैंकले ग्राहकहरुलाई गरेको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतामा समेत सहयोग पुग्ने बैंकले जनाएको छ ।