काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसारर बैंकको खुद ब्याज आम्दानी र नाफा बुवै बढेको छ ।बैंकले समीक्षा अवधिसम्म ४ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिका्े तुलनामा १४.७२ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ७ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ७४ करोड र सञ्चालन मुनाफा ६ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा १ अर्ब ६७ करोड रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने १ अर्ब ७० करोड आर्जन गरेको छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ७८ करोड रुपैयाँ र रिजर्भमा ११ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
बैंकको निक्षेप संकलन २ खर्ब ११ अर्बबाट बढेर २ खर्ब ६३ करोड र कर्जा प्रवाह पनि १ खर्ब ८१ अर्बबाट बढेर २ खर्ब १० अर्ब पुगेको छ । चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा १७९.३८ प्रतिशतले बढ्दै २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको लाभांश क्षमता पनि ५.१३ प्रतिशतबाट बढेर १४.३३ प्रतिशत कायम भएको छ ।
बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ४.६५ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.५६ प्रतिशत पुगेको छ । यस्तै बैंकको. बेस रेट ६.४९ प्रतिशत र कस्ट अफ फण्ड ५.२१ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२०.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६३४.५६ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३.३२ गुणा,प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ र तरलता अनुपात ३०.३६ प्रतिशत रहेको छ ।