काठमाण्डौ । लगानीकर्ताको चर्को विरोध र प्रदर्शनपछि पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले कारोबारको अन्तिम १५ मिनेटको औसत नियम तथा कारोबार प्रणालीमा रहेको एमकेटी अप्सनको विषय अध्ययन थालेको छ।
धितोपत्र बोर्डको सुपरीवेक्षण विभागअन्तर्गत एउटा कमिटी गठन गरेर अन्तिम १५ मिनेट औसत सम्बन्धी नियम तथा टिएमएसमा रहेको एमकेटी अप्सन, यी दुई फिचर्सले दोश्रो बजारमा पारेको सकारात्मक वा नकारात्मक प्रभाव लगायतका विषयमा अध्ययन थालिएको हो ।
'हामीले अध्ययन कमिटी गठन गरेर लगानीकर्ताको माग सम्बोधन हुने गरी कामलाई अगाडि बढाएका छौं ।' धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिजशालासँग भने-'यो क्रममा लगानीकर्ताहरुले भन्नुभएजस्तो अन्तिम १५ मिनेटको औसत निकाल्ने नियमको सान्दर्भिकताको विषय हेरिनेछ । लगानीकर्ताहरुले एमकेटी अप्सन चाहिँ हटाउनुपर्नेमा अन्तिम १५ मिनेटको औसतको नियम ल्याइएको गुनासो गर्नुभएको छ, त्यसकारण एमकेटीको विषयमा समेत अध्ययन हुनेछ ।'
अध्यक्ष श्रेष्ठले अध्ययनलाई चाँडो सकेर लगानीकर्ताहरुको जायज माग सम्बोधन हुने गरी आवश्यक व्यवस्था गर्नका लागि बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेलाई आवश्यक निर्देशन दिइनेछ ।
'बजारका लगानीकर्ताहरुलाई असुविधा हुने कुनै पनि फिचर्स सधैंभरका लागि रहनुपर्छ भन्ने पक्षमा हामी छैनौं । अव्यवहारिक व्यवस्थाहरु समयअनुसार संसोधन गर्दै लैजानुपर्छ । तर, त्यसको दीर्घकालीन प्रभावको विषयमा यथेष्ट अध्ययन गरेपछि मात्र ।'-अध्यक्ष श्रेष्ठले भने ।
टिएमएसमा 'एमकेटी अप्सन' के हो ?
कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सेयर खरिद–बिक्री अर्डर राख्नका लागि सीएनसी, एलएमटी र एमकेटी अप्सन रहेका छन्। सीएनसी र एलएमटीमा नियमित अर्डर राख्ने काम हुन्छ। तर, टीएमएसमै एउटा एमकेटी (मार्केट अडर) अप्सन रहेको हुन्छ। मार्केट अर्डर भनेको बजारमा चलेको मूल्यअनुसार सेयर कारोबार हुने एक आदेशको प्रकार हो।
उदाहरणका लागि ब्रोकर हाउसमा भरिने आदेश फाराममा एउटा लगानीकर्ता स्वयंले मूल्य राख्ने अप्सन हुन्छ भने अर्को भनेको ब्रोकरलाई नै बजारमा चलेको मूल्यमा सेयर किनबेच गर्न सक्ने गरी व्यवस्था गरिएको हुन्छ। त्यस्तो फाराममा लगानीकर्ताले ब्रोकरलाई नै कारोबारको आदेश पनि दिन सक्छन्।
हाल टीएमएसमा पनि त्यही सुविधालाई हेरेर एमकेटी अप्सन राखिएको छ। यो भनेको बजारमा चलेको मूल्यमै कारोबारको कुनै पनि समयमा लगानीकर्ताले एकैपटक सेयर किन्न वा बेच्न सक्ने टीएमएसको फिचर हो। यसमा एकैपटक एमकेटी अप्सनमा गएर अर्डर भएअनुसारको कित्ता बजारमा चलेको मूल्यमै किनबेच हुन्छ।
के हो अन्तिम १५ मिनेट औसतको नियम ?
नेपालको सेयर बजारमा "अन्तिम १५ मिनेट औसत" (Last 15 Minutes Average Price) नियम मुख्यत: समापन मूल्य (Closing Price) निर्धारण गर्न प्रयोग हुन्छ। यसको उद्देश्य बजारको अन्तिम समयमा हुने अत्यधिक उतारचढावलाई नियन्त्रण गर्नु हो, ताकि कृत्रिम रूपमा सेयर मूल्य बढाउने/घटाउने हेरफेर रोक्न सकियोस्।
कारोबार समय सकिनु १५ मिनेट अगाडि देखि बजार बन्द हुने समयसम्म भएका सबै कारोबारहरूको औसत मूल्यलाई समापन मूल्य (Closing Price) मानिन्छ।
उदाहरणका लागि, यदि बजार ३ बजे बन्द हुन्छ भने २:४५ बजे देखि ३:०० बजेसम्म भएका कारोबारहरूको मूल्य लिएर औसत निकालिन्छ।
यो मूल्य नै Index (NEPSE सूचक) गणनामा प्रयोग हुन्छ।