काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विगत ४ महिनाकै उच्च कायम भएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सेप्टेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्ने उच्च सम्भावनाका बीच सुनको मूल्य आकाशिएको हो ।
आजको कारोबारमा सुनको मूल्य ०.७७ प्रतिशत अर्थात २६.६३ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ४७४ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत अप्रिल २३ पछिकै उच्च हो ।
अमेरिकी संघीय अदालतले ट्रम्पको ट्यारिफ नीतिलाई गैरकानूनी घोषणा गरेसँगै बढेको अनिश्चितताका कारण समेत सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।
फेडले २५ बेसिक प्वइन्टले ब्याजदरमा कटौती गर्ने उच्च सम्भावना रहेको जनाइएको छ । प्रतिफल नदिने सम्पत्तिको रुपमा रहेको सुनको मूल्य प्रायः न्यून ब्याजदर वातावरणमा फस्टाउने गर्छ ।
यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.७३ डलरले बढ्दै प्रतिऔंस ४०.४७ डलर पुगेको छ । यो मूल्य सन् २०११ सेप्टेम्बर अर्थात १४ वर्षकै उच्च हो ।