काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पहिलोपटक ३६ सय डलरको आँकडा पार गरेको छ । आजको कारोबारमा सुनको मूल्य १.६३ प्रतिशत अर्थात ५८.३९ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ६४५ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी श्रम बजारमा देखिएको सुस्तताका कारण फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना उच्च भएसँगै सुनको मूल्य बढेको हो । फेडले ब्याजदर कटौती सम्बन्धी निर्णय आगामी साता गर्दैछ ।
विश्लेषकहरुले सुनको मूल्य चाडैनै ३७ सयदेखि ३७३० डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् । फेडले ब्याजदर कटौती गरे सुनको भाउलाई सपोर्ट प्राप्त हुने र हालको वृद्धिले अझै निरन्तरता पाउने बजार विज्ञले बताएका छन् ।
आइतबार प्रकाशित भएको आँकडाअनुसार चीनको केन्द्रीय बैंकले गत अगस्ट महिनासम्म लगातार १० महिना सुनको खरिद जारी राखेको छ ।
यस्तै अमेरिकाको १० वर्षे ट्रेजरीको प्रतिफल विगत ५ महिनाकै न्यून पुगेको छ । यी सबै कारणले पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
लगानीकर्ता यतिबेला बुधबार सार्वजनिक हुने अमेरिकी उत्पादक मूल्य डेटा र उपभोक्ता मूल्यको डेटाको प्रतिक्षामा छन् । यो डेटाले फेडको ब्याजदर कटौतीको निर्णयबारे थप स्पष्टता प्रदान गर्नेछ ।