काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले दशौं बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा आगामी कात्तिक २० गते बिहिबारका दिन भक्तपूरको सूर्यविनायकमा रहेको डालेश्वर भिलेज रिसोर्टमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । सभामा हकप्रदबाट प्राप्त हुने रकमको उपयोग तथा हकप्रद जारी गर्ने क्रममा आईपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८१/८२ को वासलात,नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।