काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्य प्रतिऔंस ४२ सय डलर नजिक पुगेको छ । आजको कारोबारमा प्रतिऔंस १.८३ प्रतिशत अर्थात ७५ डलरले बढेसागै सुनको भाउ ४२ सय डलर नजिक पुगेको हो ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १८७ डलरमा कारोबार भईरहेको छ ।
विश्वका दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच देखिएको व्यापारिक तनाव र अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने उच्च सम्भावनाका बीच सुनको भाउमा पछिल्लो समेत निरन्तर उछाल आईरहेको छ ।
यो वर्ष मात्रै सुनको मूल्य ५७ प्रतिशतले वृद्धि भईसकेको छ । सोमबार सुनको भाउले पहिलोपटक प्रतिऔंस ४१ सय डलरको आँकडा पार परेको थियो । विश्वका केन्द्रीय बैंकले खरिद बढाउनु, विश्व राजनीतिक र आर्थिक अनिश्चितता जस्ता विविध कारणले यस वर्ष सुनको भाउमा व्यापक वृद्धि देखिएको हो ।
बैंक अफ अमेरिकाका विश्लेषकहरुले सुनको भाउ सन् २०२६ सम्म प्रतिऔस ५ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।
यस्तै आज चाँदीको भाउमा समेत बढोत्तरी आएको छ । चाँदीको मूल्य ०.३५ डलरले बढ्दै प्रतिऔंस ५२.१९ डलरमा कारोबार भईरहेको छ ।