काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी कात्तिक ३० गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै बोनस सेयर जारीपश्चात वृद्धि हुने पूँजी लगायतका विषयहरु समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र स्वतन्त्र सञ्चालक पदमा आगामी ४ वर्षका लागि कमला वाग्लेलाई गरिएको नियुक्ती अनुमोदन गर्ने र तोकिएको सीमाभन्दा बढी भएको आर्थिक सहायतालाई अनुमोदन गरिनेछ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै सहायक कम्पनी सिद्धार्थ क्यापिटलको वित्तीय विवरणहरु पनि पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।