काठमाण्डौ । चीनले अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) ले आफ्नो राष्ट्रिय समय सेवा केन्द्रमा साइबर आक्रमण गरेको आरोप लगाएको छ । चीनले यी आक्रमणहरूले नेटवर्क संचार, वित्तीय प्रणाली र विद्युत आपूर्ति जस्ता अत्यावश्यक सेवाहरू अवरुद्ध गर्न सक्ने जनाएको छ।
यो समाचारले दुई देशबीच पहिलेदेखि नै विद्यमान तनावलाई थप बढाउन सक्ने जनाइएको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले आफ्नो वीच्याट पोस्टमा सन् २०२२ मा एनएसएले विदेशी मोबाइल फोन ब्रान्डको सन्देश सेवामा त्रुटिको फाइदा उठाएको जनाएको छ । यसमार्फत केन्द्रका कर्मचारीको यन्त्रबाट गोप्य सूचना चोरी भएको थियो । मन्त्रालयले उक्त मोबाइल ब्राण्डको नाम भने खुलाएको छैन ।
यसका साथै सन् २०२३ र २०२४ को बीचमा एनएसएले नेटवर्क प्रणालीहरूलाई लक्षित गर्दै ४२ प्रकारका विशिष्ट साइबर आक्रमण उपकरणहरू प्रयोग गरेको जनाएको छ । नेशनल टाइम सर्भिस सेन्टर चीनको लागि धेरै महत्त्वपूर्ण छ। यस केन्द्रले देशको मानक समय निर्धारण गर्दछ र सञ्चार, वित्त, ऊर्जा, यातायात र रक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा समय सेवाहरू प्रदान गर्दछ।
यदि यो केन्द्र क्षतिग्रस्त भयो भने, यी क्षेत्रमा गम्भीर समस्या हुन सक्छ। अधिकारीहरूले केन्द्रलाई सम्भावित खतराहरूबाट जोगाउन र जोखिम कम गर्न दिशानिर्देश जारी गरेको बताएका छन् ।
पछिल्ला केही वर्षहरूमा पश्चिमी देशहरूले चीनसँग सम्बन्धित ह्याकरहरू विरुद्ध धेरै आरोप लगाएका छन्। उनीहरुले ह्याकरहरूले सरकारी अधिकारीहरू, पत्रकारहरू, कम्पनीहरू र अन्य मानिसहरूलाई लक्षित गरेको बताएका छन्। अब चीनको यो नयाँ भनाइले साइबर सुरक्षाका सम्बन्धमा दुई पक्षबीचको बहसलाई थप चर्काउन सक्ने आँकलन गरिएको छ ।