काठमाण्डौ । माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू मिलेर देश निर्माणतर्फ अघि बढ्नु पर्ने बताएका छन् । छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो अपिल गरेका हुन् ।
‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ, प्रचण्डले भनेका छन्, ‘परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौँ भन्ने विश्वास व्यक्त गर्दछु ।’
यस्तै उनले मधेस तराईको मुख्य चाडका रूपमा मनाइने छठ संस्कृति, परम्परा, श्रम, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएकाले यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउँने बताए ।
उनले भने, ‘छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने हार्दिक कामना गर्दछु।’

