काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कारोबार खुलेलगत्तै सुनको मूल्यमा फेरि भीषण पहिरो गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कारोबार खुलेलगत्तै सुनको मूल्य प्रति औंस ४००० डलर भन्दा तल झरेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रति औंस ३ हजार ९९० डलरमा सीमित बन्न पुगेको हो ।
कारोबार खुलेको केहीबेरमै सुनको मूल्य ३ प्रतिशतले घटेको देखिएको हो ।

सुनसँगै चाँदीको मूल्यमा अझ भीषण पहिरो देखिएको छ । चाँदीको मूल्य हिजोको तुलनामा ४.२१ प्रतिशतले घटेको हो । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ४६.५५ डलरमा सीमित बन्न पुगेको छ ।
केही दिनअघि सुनको मूल्यले करिब ४४०० डलर प्रतिऔंसको ऐतिहासिक उचाई चुमेको थियो । त्यसपछि ठूलो करेक्सन आएको सुनको मूल्य केही दिनसम्म ४१०० डलर माथि नै अडिएको थियो । तर, अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्यका लागि दुई देशका शीर्ष नेताबीच सम्झौता हुनसक्ने सम्भावनाका खबरहरु बाहिरिएपछि लामो अन्यौलता हटी लगानीका अन्य क्षेत्रका ढोका समेत खुल्ने आँकलनसहित सुरक्षित लगानीबाट पैसा जोहो गर्न खोज्नेहरुको संख्या बढेसँगै बजारमा सप्लाई बढ्दा मूल्य घट्न पुगेको विज्ञहरुको तर्क छ ।
अमेरिका र चीनबीच सम्झौता भएपछि मूल्य अझै तीव्र गतिमा घट्ने विश्लेषकहरुले आँकलन गरेका छन् ।

