काठमाण्डौ । खराब मौसमका कारण तीन विमानस्थलबाट उडान स्थगित गरिएको छ । भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलबाट आजका लागि उडान स्थगित गरिएको हो ।
नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

