काठमाण्डौ । साहस उर्जा लिमिटेडले साधारण सभा डाकेको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २४ गतेका लागि साधारण सभा डाकेको हो ।
कम्पनीको १२ औं साधारण सभा काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सेयरधनीहरुका लागि गत आवका लागि प्रस्तावित २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै १ः१ अनु्पातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने र गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

