काठमाण्डौ । यो वर्ष सुनको भाउ ह्वात्तै बढेको छ । यसको प्रमुख कारण विश्वभरका केन्द्रीय बैंकले गरेको खरिद नै हो । तेस्रो त्रैमासिकमा विश्वभरका केन्द्रीय बैंकहरूको सुन खरिद गत वर्षको तुलनामा १० प्रतिशतले बढेको छ ।
यस अवधिमा विश्वका केनद्रीय बैंकहरूले कुल २२० टन सुन खरिद गरेका छन् । यो अघिल्लो त्रैमासिकको तुलनामा २८ प्रतिशत बढी र ५ वर्षको त्रैमासिक औसतभन्दा ६ प्रतिशत बढी हो । यो वर्ष हालसम्म केन्द्रीय बैंकहरुले ६ सय ३४ टन सुन खरिद गरेका छन् ।
केन्द्रीय बैंकहरुले विगत तीन वर्षदेखि १ हजार टनभन्दा बढी सुन किनेका छन् र यो वर्ष पनि त्यही दिशामा अघि बढिरहेका छन् । यस वर्ष सबैभन्दा बढी सुन किन्ने देशको सूचीमा मध्य एसियाली देश कजाकिस्तान पहिलो स्थानमा छ ।
चीनको यो छिमेकी राष्ट्रले आफ्नो सुनको भण्डारलाई तिब्र गतिमा बढाइरहेको छ । यसबाहेक तेस्रो त्रैमासिकमा ब्राजिलले पनि २०२१ पछि पहिलो पटक सुन खरिद गरेको छ । यसबाहेक भारतका केन्द्रीय बैंक, टर्कि र पोल्याण्डले पनि यो वर्ष धेरै सुन खरिद गरेका छन् ।
गोल्डम्यान साक्सको प्रतिवेदन अनुसार चीनले यस वर्ष ठूलो मात्रामा सुन खरिद गरेको छ तर आधिकारिक रूपमा कम खरिद गरेको देखाएको छ । एक अनुमानअनुसार चीनले यस वर्ष अहिलेसम्म २४० टन सुन खरिद गरेको छ भने आधिकारिक रूपमा २४ टन मात्रै सुन खरिद गरेको देखाएको छ ।
आधिकारिक रूपमा चीनको सुनको भण्डार २ हजार ३०४ टन छ तर वास्तविकतामा यो धेरै गुणा बढी रहेको विश्वास गरिन्छ । सबैभन्दा बढी सुनको भण्डारको हिसाबले अमेरिका ८ हजार १३३ टनसहित पहिलो स्थानमा छ । त्यसपछि जर्मनी (३,३५० टन), इटाली (२,४५२ टन), फ्रान्स (२,४३७ टन) र रुस (२,३३० टन) रहेको छ।

