काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले केही घण्टादेखि काठमाण्डौको बबरमहलस्थित प्रभू बैंकको मुख्यालयमा सर्च अपरेशन चलाए पनि प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्तलाई फेला पार्न सकेको छैन ।
पन्तलाई पक्राउ गर्ने योजनाका साथ दिउँसो प्रभू बैंक आइपुगेको सीआईबीको टोलीले आठ तलाको भवनका प्रत्येक कोठा र लुक्नसक्ने सम्भावित ठाउँहरुमा सर्च अपरेशन चलाएको छ ।
प्रहरी टोली आएको खबर पाएलगत्तै कार्यकक्षबाट एकाएक गायब भएकी सीबीओ पन्त बैंकभित्रै कतै लुकेको आशंकामा खोजी कार्य जारी राखिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले केही घण्टादेखि बैंकको प्रत्येक तला तथा कोठामा राखिएको सीसीटिभी फूटेजको अध्ययन गरिरहेको छ ।
बैंकिङ कसूर र फौजदारी अभियोगमा पक्राउ परेका बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललाई सहयोग गरेको आरोपमा पन्तलाई समेत प्रहरीले पक्राउ गर्न लागेको हो ।
पछिल्ला केही वर्षहरुमा प्रहरी बैंकबाट भएका घोटाला तथा बैंकिङ सम्पत्ति दुरुपयोगका ठूला काण्डहरुमा पन्तको समेत भूमिका रहेको स्रोतहहरु दाबी गर्छन् । अनुसन्धानका क्रममा पन्तको सीईओ र डिसीईओसँग कनेक्सन देखिएको र उनले समेत बैंकलाई घाटा हुने काम गरेको देखिएकोले पक्राउ गर्न लागिएको हो । सीईओको विशेष आशिर्वादका कारण पन्तको ९ वर्षमा १० पटक बढुवा गरिएको प्रकरणलाई केन्द्रीय बैंकले पछिल्लो समय चासोको साथ हेर्दै आएको छ । कतिपय क्लोज मिटिङहरुमा गभर्नर विश्व पौडेलले चासोका साथ सोध्ने गरेका छन्- 'पन्तको के त्यस्तो क्षमता रहेछ र ९ वर्षमा १० पटक बढुवा भएछ ?'
तिनै पन्तलाई पक्राउ गर्न प्रहरीको ठूलै टोली बैंक मुख्यालयमा परिचालन भएपछि कर्मचारीहरुमा भने त्रास देखिएको हाम्रा संवाददाताले बताएका छन् ।
मंसिर १४ गते सीआईबीले बैंकका सीईओ, डिसीईओ लगायतलाई पक्राउ गरेको थियो । त्यसबेला समेत सीबीओ पन्त भने प्रहरी अपरेशनको पूर्व सूचना पाएकै कारण भाईको विवाहको बाहानामा कञ्चनपुर गएकी थिइन् ।
चौतर्फी दवाबपछि उनी कञ्चनपुर गएको ९ औं दिनपछि मात्र कार्यालयमा उपस्थित भएकी थिइन् । कार्यालयमा आउन थालेकी उनले आफूले सीआईबी र राष्ट्रबैंकलाई मिलाइसकेको भन्ने गरेकी थिइन् ।
कञ्चनपुरमा सम्पर्कविहीन भएकी उनले आफू कुनै पनि घोटालामा संलग्न नरहेको र केही सञ्चारमाध्यमले भागेको भन्ने गलत हल्ला फैलाएको भन्दै अन्य केही मिडियाहरुमार्फत आफ्नो भनाई सार्वजनिक गरेकी थिइन् । त्यसबेला उनले आफ्ना निकटस्थहरुलाई एक महिलाले उन्नति गरेको देख्न नसक्नेहरुले नियोजित हल्ला चलाएकोसम्म भन्न लगाएकी थिइन् ।
यसअघि प्रकाशित समाचार:
'राष्ट्रबैंक र सीआईबी मिलाइसकेँ' भन्दै कमब्याक, प्रभूमा रश्मीलाई सीईओ बनाउने शेरचन समूहको 'प्लान बी'

