काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले भूलवश कालोसूची सूचीमा समावेश भएकाहरुको विवरण त्रैमासिक रुपमा आफ्नो सञ्चालक समितिमा पेश गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकिकृत निर्देशन २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
कालोसूचीमा समावेश नहुनु पर्ने कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था भूलवश कालोसूची वा डिफल्टरसूचीमा समावेश गरिएको रहेछ भने यस सम्बन्धमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको कार्यकारी प्रमुखले निर्णय गरी अनुरोध गरेमा अविलम्ब त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई अभिलेख नै नरहने गरी कालोसूची हटाउनु पर्नेछ ।
यस्तै भूलवश कालोसूचीमा समावेश भई हटेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाको विवरण त्रैमासिक रुपमा आफ्नो सञ्चालक समितिमा पेश गर्नुपर्नेछ ।

