काठमाण्डौ । मध्य भोटेकाशी जलविद्युत कम्पनी लिमिटेडले एकैपटक दुई आवको साधारण सभा डाकेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस २७ गते आइतबारका दिन काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
कम्पनीले १३ औं र १४ औं वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो ।
कम्पनीले सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव सभामा पेश हुनेछैन ।
सभामा विभिन्न संघसंस्थालाई आर्थिक सहायता दिइएको रकम अनुमोदन गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ र २०८१/८२ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

