काठमाण्डौ । सेयर बजारले साताको सुरुवात सुखद ढंगले गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार बजारमा उल्लेख्य उछाल देखिएको हो।
गत साताको अन्तिम कारोबारको ट्रेन्डलाई पछ्याउँदै बजार परिसूचक (नेप्से इन्डेक्स) दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक ५४.५१ अंकले बढेर २,९३१ बिन्दुमा पुगेको छ।
कारोबार रकम पनि २३ अर्ब ५९ करोड रुपैयाँ नाघेको छ।
प्रतिनिधिसभा निर्वाचनको परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाइ नजिकको बहुमत ल्याएसँगै बजारमा निरन्तर उत्साह देखिएको छ। स्थिर सरकार र आगामी पाँच वर्षसम्म नीतिगत स्थायित्व रहने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ।
रास्वपाका अध्यक्ष रवि लामिछानेले लगानीकर्तालाई लक्षित गर्दै “ढुक्क भएर लगानी गर्न” दिएको सन्देश र लगानी सुरक्षाको प्रतिबद्धताले बजारमा थप सकारात्मक प्रभाव परेको देखिन्छ।
बजारमा बुलिस ट्रेन्ड सुरु भएसँगै पछिल्ला दिनहरूमा ठूला तथा संस्थागत लगानीकर्ताको प्रवेश पनि बढ्दै गएको छ। यसले अधिकांश समूहमा कारोबार सक्रिय बनाएको छ भने सूचीकृत कम्पनीहरूको सेयरमूल्य तीव्र गतिमा बढ्न थालेको छ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेल भन्छन्, 'यतिबेला चौतर्फी नयाँ सरकारकै चर्चा छ । रास्वपाको बहुमतको सरकार बन्ने भएपछि अब स्थिर पोलिसीहरु आउने कुराले लगानीकर्ताहरुमा उत्साह बढेको छ । सेयरबजारमा सकारात्मक सुधार ल्याउनका लागि विशेषतः स्थिर नीतिसँगै आर्थिक सूचकाङ्कहरु राम्रो हुन जरुरी छ । अब पोलिसीहरु स्थिर बनेपछि वा नीतिमा हुने स्थायित्वले देशका उद्योग तथा कलकारखानाहरु वा व्यवसायहरुमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ । केही दिनयता सेयरबजारमा भइरहेको कारोबार रकमले लगानीकर्तामा उत्साह जगाएको देखिन्छ । बजारलाई अहिले बढीसकेको वा लय लिइसकेको भन्न सकिँदैन तर लगानीकर्ताहरुमा उत्साह थपिएकाले केही सुधार देखिएको भन्न सकिन्छ । नियामक निकायहरुले अब गहकिलो नीति बनाउन सके वा बजारको साख जोगाउने खालका नीति ल्याएमा मात्रै बजार दिगो ढंगले बढ्नसक्छ । साथै अर्थमन्त्री र गभर्नरको पनि ट्युनिङ मिल्न आवश्यक छ । अहिले लगानीकर्ताको अपेक्षा भनेकै धितोपत्र बोर्डको पोलिसी स्थिर होस् र नेप्सेको पुनर्संरचना होस् भन्ने हो ।'
बजार बुलिसतर्फ अगाडि बढिरहेको संकेत
आज बजारमा सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स नै राम्रो अंकले बढेका छन् । यसअघिको कारोबार दिनमा पनि यस्तै भएको थियो । शेयर बजारमा फ्लोट इन्डेक्स, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स तीनवटै सूचकहरूले बजारको फरक–फरक पक्ष देखाउँछन्।
फ्लोट इन्डेक्सले सर्वसाधारणले किनबेच गर्न सक्ने सेयरको आधारमा बजारको अवस्था मापन गर्छ, जसले वास्तविक तरलता झल्काउँछ। सेन्सेटिभ इन्डेक्सले बैंक तथा वित्तीय संस्था जस्ता ठूला र प्रभावशाली कम्पनीहरूको प्रदर्शन देखाउँछ, त्यसैले यसले बजारको कोर सेक्टर कस्तो छ भन्ने संकेत दिन्छ। सेन्सेटिभ फ्लोट इन्डेक्स भने यी ठूला कम्पनीहरूमध्ये पनि बजारमा स्वतन्त्र रूपमा कारोबार हुने सेयरलाई आधार मानेर गणना गरिन्छ।
यी इन्डेक्सहरू बढ्नुको अर्थ लगानीकर्ताको विश्वास बढ्दै जानु, कारोबार सक्रिय हुनु, र विशेषगरी बैंक तथा वित्तीय क्षेत्रसहित समग्र बजारमा सकारात्मक ट्रेन्ड देखिनु हो:अर्थात बजार बुलिस दिशातर्फ अघि बढिरहेको संकेत मानिन्छ।
आइतबार अरु के-के भयो बजारमा ?
आइतबार सेयर बजारमा कुल ३६४ कम्पनीको ६ करोड १४ लाख बढी कित्ता २ लाख ४ हजार ९५५ वटा कारोबारबाट किनबेच भयो । कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२.८४ रुपैयाँको सेयर किनबेच भयो । यो दिन व्यापार समूहको सूचकमा ०.११ प्रतिशतको गिरावट आए पनि बाँकी सबै समूहमा उछालको अवस्था देखियो ।
सबैभन्दा बढी माइक्रोफाइनान्स समूहमा ४.२१ प्रतिशतको उछाल देखियो । होटल तथा टुरिजम सेक्टर ३.०५ प्रतिशतले बढ्यो भने बैंकिंग समूहमा २.४९ प्रतिशत, विकास बैंक समूहमा २.४६ प्रतिशत र बित्त समूहमा २.१३ प्रतिशतको बढोत्तरी भयो । यो दिन हाइडोपावर समूहमा ०.३३ प्रतिशतको झिनो बढोत्तरी देखियो भने लगानी समूह ०.७७ प्रतिशत, जीवन बीमा समूह २ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.९३ प्रतिशत, निर्जीवन बीमा समूह २.७२ प्रतिशत, अन्य समूह १.७१ प्रतिशत र म्युचुअल फण्ड समूह १.२४ प्रतिशतले बढे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन सबैभन्दा बढी कारोबार कुमारी बैंकको भयो । यो कम्पनीको मात्रै ८५ करोड बढीको सेयर किनबेच भयो । दोश्रो स्थानमा नेशनल हाइड्रोपावर कम्पनीको ७७ करोड बढीको सेयर कारोबार भयो । शिवम सिमेन्टले ७५ करोड बढीको कारोबार गरेको यो दिन ङादी ग्रुप पावरले ७३ करोड, हिमाल दोलखा हाइड्रोपावरले ७१ करोड, आँखुखोला जलविद्युत कम्पनीले ७० करोड, रिडीले ४८ करोड, बलेफी हाइड्रोपावरले ४१ करोड तथा सानिमा मिडल तमोर हाइड्रोले ३७ करोड बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन ८ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिंग मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुंग हाइड्रोपावर, होटल फरेस्ट इन र विजय लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बृद्धि भयो । सबैभन्दा बढी एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लगानीकर्ताहरुले गुमाए । यो फण्डको इकाई मूल्य ६ प्रतिशत हाराहारीमा घट्न पुग्यो ।

