काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले नेपालका लागि स्वीस राजदूत डेनियल मैवलीसँग नेपालका उच्चपदस्थ व्यक्तिहरूले स्वीस बैंकमा अवैध रूपमा जम्मा गरेको रकम भए त्यसको खोजी गरी नेपाल फर्काउने काममा सहयोग गर्न आग्रह गरेका छन् ।
गृहमन्त्रालयमा आज भएको शिष्टाचार भेटका क्रममा मन्त्री गुरुङले भ्रष्टाचार तथा अन्य गैरकानुनी माध्यमबाट आर्जित रकम विदेशमा राखिएको हुन सक्ने भन्दै त्यसबारे अनुसन्धानमा सहकार्य गर्न अनुरोध गरे। त्यस्ता रकम फेला परेमा नेपाल सरकारको पहलमा फिर्ता ल्याउने व्यवस्था मिलाउन पनि उनले जोड दिए।
भेटमा राजदूत मैवलीले मन्त्री गुरुङलाई जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। साथै, नेपाल र स्वीस सरकारबीच आप्रवासन सम्बन्धी विषयमा सहकार्य विस्तार गर्ने प्रस्ताव पनि राखिन्, जसबारे मन्त्री गुरुङले हाल छलफल चलिरहेको जानकारी दिएका थिए।
यसैगरी, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो। राजदूत मैवलीले नेपालमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत र परिणाममुखी बनाउँदै लैजाने विषयमा सहमति जनाएका छन्।

