काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बनेपछि सुनको मूल्यमा वृद्धि भएको छ भने कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीतिसम्बन्धी चिन्ता केही कम भएको देखिएको छ।
आज स्पट गोल्डको मूल्य ०.८७ प्रतिशतले बढेर प्रतिऔंस ४,७७४ डलर पुगेको छ। उता, कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ। अमेरिका–इरानबीच सम्भावित वार्ताको संकेत देखिएपछि आपूर्ति अवरोधको जोखिम कम भएको अनुमानले तेलको मूल्य घटेको हो। यसअघि अमेरिकी नाकाबन्दीका कारण इरानी बन्दरगाहबाट आपूर्ति प्रभावित हुने आशंका गरिएको थियो।
तेलको मूल्य घट्दा ढुवानी तथा उत्पादन लागतमा कमी आउँछ, जसले मुद्रास्फीतिमा दबाब कम गर्न सहयोग पुर्याउँछ। यद्यपि, सुनलाई मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानी (हेज) का रूपमा हेरिए पनि उच्च ब्याजदरले यसको मागलाई दबाउने गर्छ।
विश्लेषकहरुका अनुसार, बजारले अमेरिका र इरानबीच सम्झौताको सम्भावना अझै बाँकी रहेको संकेत गरिरहेको छ। निकट भविष्यमा मुख्य आर्थिक सूचकहरूको अभावका कारण अमेरिका–इरानसम्बन्धी समाचारहरूले नै बजारलाई प्रभाव पार्ने उनीहरुले बताएका छन् ।
दुवै देशका वार्ता टोलीहरू यसै साता पाकिस्तानको इस्लामाबादमा पुनः भेट्न सक्ने सम्भावना रहेको छ। यसअघि भएको वार्ता निष्कर्षविहीन रूपमा टुंगिएको थियो।
यसैबीच, अमेरिकी डलर एक महिनाभन्दा बढीको न्यून स्तरमा झरेको छ, जसका कारण अन्य मुद्राधारकका लागि सुन सस्तो बनेको छ।
हाल बजारमा यस वर्ष अमेरिकी केन्द्रीय बैंकले २५ आधार बिन्दुले ब्याजदर कटौती गर्ने सम्भावना ३१ प्रतिशत देखिएको छ, जुन गत साता करिब १३ प्रतिशत मात्र थियो। युद्धअघि भने दुई पटकसम्म ब्याजदर कटौती हुने अपेक्षा गरिएको थियो।
अन्य बहुमूल्य धातुहरूमा पनि वृद्धि देखिएको छ। स्पट सिल्भर २.९ प्रतिशतले बढेर प्रतिऔंस ७७.७३ डलर पुगेको छ भने प्लाटिनम ०.८ प्रतिशतले वृद्धि हुँदै २ हजार ८६.१५ डलर र प्यालेडियम ०.७ प्रतिशतले बढेर १ हजार ५८५.४२ डलरमा पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।