काठमाण्डौ । फ्रान्सकी रक्षा मन्त्री क्याथरिन वोत्रिनले बेल्जियम, नेदरल्यान्ड्स र फ्रान्सजस्ता युरोपेली देशहरूसँग बारूदी सुरुङ हटाउने र समुद्री सुरक्षा सञ्चालन गर्ने क्षमता रहेको बताएका छन्।
उनका अनुसार यस क्षमताले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुजबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग पुग्न सक्छ। मन्त्री वोत्रिनले पेरिसमा हुने उच्चस्तरीय बैठकमा यस विषयमा छलफल हुने जानकारी दिँदै भने, ‘होर्मुज जलमार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न पूर्ण रूपमा रक्षात्मक र गैर–आक्रामक तरिकाले एस्कर्ट र सुरक्षा प्रदान गर्ने क्षमताहरू उपलब्ध छन्।’
फ्रान्स र बेलायतले आज करिब ४० देशहरूको सहभागितामा बैठकको आयोजना गर्ने तयारी गरेका छन्। बैठकको मुख्य उद्देश्य होर्मुज जलमार्गमा समुद्री व्यापार स्वतन्त्रता पुनःस्थापित गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनु रहेको बताइएको छ।
उक्त जलमार्ग विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति यस मार्ग हुँदै हुने भएकाले यहाँ कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पार्न सक्छ।

