काठमाण्डौ । इरानले अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता सुरु गर्ने सम्भावना नदेखिएको स्पष्ट पारेको छ। ईरानका उपविदेश मन्त्री सहिद खादिजवेदले अमेरिकाले आफ्ना कडा शर्तहरूमा लचकता नदेखाएको आरोप लगाउँदै हालका लागि आमने–सामने संवादमा सहमति नभएको बताएका हुन्।
समाचार संस्था एपीसँगको कुराकानीमा उनले ईरानले आफ्नो संवर्धित युरेनियम अमेरिका समक्ष नबुझाउने स्पष्ट गरे। उनका अनुसार दुई पक्षबीच केही स्तरमा सम्पर्क भए पनि औपचारिक वार्ताअघि स्पष्ट फ्रेमवर्क सम्झौता आवश्यक रहेको ईरानको धारणा छ।
खातिबजादेहले भने, ‘अमेरिकाले हाम्रो प्रमुख चासोहरूलाई बुझ्न र समाधान गर्नुपर्छ, जसमा ईरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउने विषय पनि पर्छ।’
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ईरानसँग धेरै राम्रो संवाद भइरहेको दाबी गरेका थिए। तर ईरानी पक्षको पछिल्लो अभिव्यक्तिले उक्त दाबीसँग स्पष्ट असहमति देखाएको छ।
विश्लेषकहरूका अनुसार सन् २०१५ को ज्वाइन्ट कम्प्रीहेन्सिभ प्लान अफ एक्सान पछि दुबै देशबीच विश्वासको संकट गहिरिँदै गएको छ ।
हालको अवस्थाले ईरान–अमेरिका सम्बन्धमा अझै जटिलता कायम रहेको संकेत गरेको छ, जहाँ वार्ताको ढाँचा र प्राथमिकतामा सहमति नहुँदा कूटनीतिक प्रयासहरू अघि बढ्न सकेका छैनन्।

