काठमाण्डौ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिहरूबीच वार्तामा सहभागी नहुने जनाएको छ । इरानी संसदका सभामुख मोहमद बागर गालिबाफले सामाजिक सञ्जाल ‘एक्स’ मा अमेरिकाले वार्ता प्रक्रियालाई समर्पणको ढाँचामा बदल्ने प्रयास गरिरहेको छ वा युद्धलाई वैध ठहराउने दिशामा अघि बढिरहेको बताएका छन् ।
गालिबाफले इरानले दबाब र धम्कीको वातावरणमा कुनै पनि प्रकारको वार्ता स्वीकार नगर्ने बताएका छन्। उनले पछिल्ला दुई हप्तामा इरानले सम्भावित संघर्षका लागि विभिन्न रणनीतिक तयारीहरू गरेको दाबी पनि गरेका छन्।
यसअघि पहिलो चरणको वार्तामा गालिबाफले इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। आगामी दोस्रो चरणको वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा हुने तयारी भइरहेको छ।
यसबीच, अमेरिकी पक्षबाट प्रतिनिधिमण्डल पाकिस्तान जाने संकेत दिइएको छ। तर इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले हालसम्म कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेका छन्।

