काठमाण्डौ । ह्वाइट हाउसमा पत्रकारहरूसँग आयोजित डिनर कार्यक्रमका क्रममा संदिग्ध गोली चलेजस्तो आवाज सुनिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षा अधिकारीहरूले तत्काल कार्यक्रमस्थलबाट बाहिर निकालेका छन्।
वाशिङ्टन हिल्टनमा आयोजित उक्त कार्यक्रममा ट्रम्प संवादमा व्यस्त रहँदा अचानक हलचल सुरु भएको थियो। त्यसपछि ठूलो आवाज सुनिएपछि सीक्रेट सर्भिसका सदस्यहरूले “तल बस्नुहोस्” भन्दै ट्रम्पलाई छिटो बाहिर लगेका थिए। घटनाका क्रममा उनका शीर्ष सल्लाहकार स्टीफन मिलरलाई समेत सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प र फर्स्ट लेडी मेलानियालाई मंचबाट हटाइएपछि काउन्टर असल्ट टिम (CAT) का सशस्त्र सुरक्षा अधिकारीहरूले कार्यक्रमस्थल नियन्त्रणमा लिएका थिए। उनीहरूले लामो हतियारसहित सम्भावित जोखिमतर्फ निगरानी गरेका थिए।
केही समयपछि सुरक्षा टोलीले एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिई कडा सुरक्षा घेरामा बाहिर लगेको बताइएको छ। घटनापछि उपस्थित अतिथिहरूलाई केहीबेर भुइँमा बस्न निर्देशन दिइएको थियो।
घटनापछि ट्रम्पले आफ्नो प्रतिक्रिया दिँदै हमलावर पक्राउ परेको पुष्टि गरेका छन्। उनले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका छन्, “सीक्रेट सर्भिस र कानून कार्यान्वयन निकायले अत्यन्तै तीव्र र साहसिक काम गरेका छन्।”
उनले कार्यक्रम जारी राख्ने सुझाव दिएको पनि उल्लेख गर्दै अन्ततः सुरक्षा निकायको सल्लाहअनुसार अघि बढ्ने बताएका छन्। साथै, सो घटनापछि उनको शनिबारको साँझको कार्यतालिका प्रभावित भएको जनाइएको छ।
सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
-BBC

