काठमाण्डौ । हालै विभिन्न प्रयोगकर्ताबाट आएको रिपोर्टअनुसार, नयाँ आईफोन मोडेलहरूमा ब्याट्री पूर्ण रूपमा सकिएपछि चार्जमा जोड्दा पनि फोन तुरुन्तै अन नहुने समस्या देखिएको छ। मनी कन्ट्रोलको रिपोर्टका अनुसार विशेषगरी आईफोन १७ र आईफोन एयर प्रयोगकर्ताहरूले यस्तो अनुभव साझा गरेका छन्।
प्रयोगकर्ताहरूका अनुसार, फोनको ब्याट्री पूर्ण रूपमा डिस्चार्ज भएर बन्द भएपछि तुरुन्त चार्जमा जोड्दा पनि कुनै प्रतिक्रिया देखिँदैन। स्क्रिन कालो नै रहने र चार्जिङ संकेतसमेत नदेखिने समस्या रिपोर्ट गरिएको छ। विभिन्न यूएसबी–सी केबल प्रयोग गर्दा, म्याकसँग कनेक्ट गर्दा वा हार्ड रिसेट गर्दा समेत केही समयसम्म फोन पूर्ण रूपमा अनरिस्पोन्सिभ रहने बताइएको छ।
विशेषज्ञहरूका अनुसार, स्मार्टफोनलाई पुनः सुरु हुनका लागि ब्याट्रीमा न्यूनतम भोल्टेज आवश्यक पर्छ। यदि ब्याट्री स्तर सो सीमा भन्दा तल पुगेको छ भने, डिभाइसले केही समयसम्म कुनै प्रतिक्रिया नदिन सक्छ। यस्तो अवस्थामा पर्याप्त चार्ज नपुग्दासम्म फोन अन नहुन सक्छ।
केही प्रयोगकर्ताले म्याकसेफ चार्जर जस्ता वायरलेस चार्जरमा केही समय राखेपछि फोन पुनः अन भएको बताएका छन्। वायरलेस चार्जिङले स्थिर रूपमा पावर प्रदान गर्ने भएकाले ब्याट्रीलाई आवश्यक न्यूनतम स्तरसम्म पुर्याउन सहयोग पुग्ने अनुमान गरिएको छ।
यस्तो समस्या आए के गर्ने ?
–फोनलाई वायरलेस चार्जरमा कम्तीमा १०–१५ मिनेट राख्ने
–ब्याट्रीलाई पूर्ण रूपमा ०% सम्म झर्न नदिने
–समस्या बारम्बार दोहोरिएमा प्राविधिक सहायता लिने

